बाराको सिमरामा जेनजी युवामाथि भएको दमनप्रति कडा असन्तुष्टि जनाउँदै हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सरकारलाई कडा चेतावनी दिएका छन्। उनका अनुसार सरकार संयमित हुन नसके भोलिदेखि नै निर्णायक आन्दोलन सुरू हुन सक्छ।
सिमरामा एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेत आगमनको तयारीमा रहँदा स्थानीय युवाहरूले विमानस्थल क्षेत्रमै प्रदर्शन गरेका थिए। प्रदर्शन तीव्र बनेपछि काठमाडौंबाट उडिसकेको विमान पुनः फर्काइएको थियो। त्यही विमानमा रहेका मानवअधिकारकर्मी राजन कुँइकेलले घटनाको भिडियो सार्वजनिक गरेका छन्।
घटनापछि सुदन गुरुङ सरकारप्रति कडा रूपमा आक्रामक बनेका छन्। उनले स्पष्ट रूपमा भने, राज्य शक्तिले युवामाथि प्रहार गर्ने काम रोकिनु पर्छ, अन्यथा देशभर निर्णायक आन्दोलनको वातावरण बन्न सक्छ।
गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा समेत माग्दै सरकारको कदम जनतामाथिको अन्यायको प्रमाण बनेको दाबी गरेका छन्। हिजोमात्रै उनले गृहमन्त्रीले युवाविरुद्ध गोली चलाउनेहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै, शक्तिशाली व्यक्तिहरू खुलेआम जिम्मेवारीबाट बच्दै हिँडिरहेको बताए।
उनका अनुसार मृत्तक र घाइते युवाको न्याय सुनिश्चित नभएसम्म चुनावको वातावरण बन्नै सक्दैन। उनले जोड दिए, न्याय नदिलाउने सत्ता टिक्दैन, विकल्प खोज्ने समय नजिकिँदै छ।
