बञ्चरेडाँडामा फोहोर ढुवानी अवरोध हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बोलाएको बैठक बुधबार पनि निष्कर्षविहीन टुंगिएको छ।
काठमाडौंबाट फोहोर लैजान रोकिएको तेस्रो दिनमा बसेको बहुपक्षीय संवादले समाधानको आशा जगाए पनि अन्तिम क्षणमा निर्णयपत्रमै असहमतिले वार्ता भत्किएको हो।
बैठकमा तयार भएको नौबुँदे मस्यौदामा प्रभावित धादिङको धुनिवेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधि सहमत थिए।
तर स्थानीयको प्रतिनिधित्व गर्दै आएका अधिवक्ता सुवास पाठकले स्वयं तयार गरेको निर्णयपत्रमा नै असहमति जनाउँदै बैठकबाट बाहिरिएपछि अन्य जनप्रतिनिधिले पनि हस्ताक्षर गर्न मानेनन्।
मन्त्री घिसिङले “सहमतिका लागि आफूहरू हदैसम्म लचिलो भए पनि एकपछि अर्को नयाँ माग थपिँदै जाँदा समाधान सम्भव हुँदैन” भन्दै चेतावनी दिए।
मस्यौदामा घरटहरा र बालीको मुआब्जा, लिचेड व्यवस्थापन, स्वास्थ्य–शिक्षामा विशेष सुविधा, प्रभावितलाई रोजगारी एजेन्डामा राख्ने, EIA छिटो गर्न निर्देशन, अस्पताल उपचार र कोटाको प्रबन्ध जस्ता प्रस्ताव समावेश थिए। तर हस्ताक्षरको विवादले वार्ता टुटेपछि फोहोर ढुवानी अवरोध यथावत् छ। मन्त्री घिसिङले अबको कदमबारे प्रधानमन्त्रीसँग पुनः परामर्श गर्ने बताएका छन्।
