• Saturday 17th of October 2026

उषाकिरणले लगाए एमालेलाई यस्तो आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व र नीतिगत बहस तीव्र बन्दै गएको छ। यसैबीच केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीमा अहिले एक व्यक्ति मात्रै हाबी हुने प्रवृत्ति बढेको बताउँदै खुला रूपमा असन्तुष्टि जनाएकी छन्।

उनका अनुसार भदौ २३ र २४ को जेनजी आन्दोलनले एमालेसहित पुरै राजनीतिक ढाँचा हल्लिएको छ। उनले भनिन्, अहिलेको अवस्थामा दलहरू जनताको मनोविज्ञान बुझ्न असफल भएका छन् र यही कारण महाधिवेशन निर्णायक मोडमा पुगेको छ।

उनी भन्छिन्, पार्टीमा सामूहिक नेतृत्वभन्दा पनि एक व्यक्तिमै केन्द्रित निर्णय भइरहेको छ। यस्तो ‘सिंगल म्यान शो’ ले एमालेलाई कमजोर बनाएको उनको आरोप छ।

तिम्सिनाले विधान महाधिवेशनमा गरिएको निर्णयले पार्टी कार्यकर्ता र जनताको भावना समेट्न नसकेको दाबी गर्दै भदौ २२ अगाडिको नेतृत्व र नीतिमा ठूलो त्रुटि रहेको स्पष्ट संकेत गरिन्।

उनले आगामी महाधिवेशनमा प्रतिस्पर्धा अपरिहार्य रहेको बताउँदै यो महाधिवेशनले आन्तरिक लोकतन्त्र पुनर्जीवित गर्ने दिशामा जानैपर्ने धारणा राखेकी छन्।

जेनजी आन्दोलनलाई उनले स्वाभाविक जनअसन्तुष्टि भनेकी छन् र भ्रष्टाचार, अवसरको अभाव र राज्यको कमजोर सेवाले नै युवालाई सडकमा ल्याएको बताएकी छन्।

तिम्सिनाले भदौ २३ को घटनामा राज्यले ठूलै गल्ती गरेको आरोप लगाउँदै तत्कालीन नेतृत्वले नैतिक जिम्मा लिनुपर्ने बताइन्।

उनका अनुसार देशको कमजोर प्रणाली, पहुँचवादी राजनीति, शिक्षा र स्वास्थ्यमा चरम दुर्दशाले मुलुक नै असान्दर्भिक मोडतिर धकेलिएको छ।

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने छ। यस महाधिवेशनले पार्टीको नेतृत्व र भविष्यको दिशाबारे ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖