नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण हुने स्थिति आए कार्यकर्ताले डराएर नभागी “फनक्क फर्केर झ्याम्म हान्न” तैयार रहनुपर्ने स्पष्ट निर्देशन दिएका छन्। च्यासलमा स्थानीय विकास विभागले आयोजना गरेको कार्यक्रममा उनले हालैको बारा घटनालाई उदाहरण दिंदै एमालेमाथि हुने हस्तक्षेप र दमनप्रति कडा प्रतिवाद गर्न नेता–कार्यकर्तालाई आग्रह गरे।
ओलीका अनुसार पार्टीलाई कमजोर देखाउने प्रयास भइरहे पनि एमाले कुनै पनि चुनौतीबाट पछि हट्ने पक्षमा छैन। ‘एमाले डराएर भाग्छ भन्ने कसैले सोचेको छ भने त्यो सोच छाडिदेओस्,’ उनले चेतावनी दिए।
फरक प्रसंगमा उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक यात्रा ओरालोतिर लागेको टिप्पणी गरे। आफ्नै पूर्व सहकर्मी माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमकै कारण नेकपाको भविष्य जोखिममा परेको उनको विश्लेषण थियो।
ओलीले प्रचण्डले ‘एकताका नाममा नचाहिएको मान्छे थुपारेको’ आरोप लगाउँदै अब त्यसको परिणाम प्रचण्डले आफैँ अनुभूति गर्ने बताए। उनले दोस्रो, तेस्रो, चौथो र छैटौँ तहका धेरै नेता अझै पनि आफू नजिक रहेको दाबी गर्दै प्रचण्डले त्यसको व्यवहारिक प्रभाव चाँडै देख्ने बताए।
