• Saturday 17th of October 2026

जेनजी–एमाले झडपपछि सिमरामा कर्फ्यू, मन्त्री समेत वार्ताका लागि दौडिए


  • धनकुटा खबर
  • .

बारा घटनालाई लिएर सिमरामा भेटवार्ता तथा समन्वय गर्न खेलकुद तथा युवामन्त्री बब्लु गुप्ता जेनजी प्रतिनिधिहरूसहित बिहीबार साँझ सिमरा गएका छन्। ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ, जेनजी प्रतिनिधि पुरुषोत्तम यादव, अभिषेक सिंहलगायतको टोली अहिले जनकपुर पुगिसकेर सिमराजाने तयारीमा छ।

सिमरामा स्थिति लगातार तनावग्रस्त बनेको छ। बुधबार जेनजी समूह र एमाले कार्यकर्ताबीच भएको झडपपछि बिहीबार दिनभर बजार बन्दजस्तै रह्यो। विरोध प्रदर्शनका कारण वीरगन्ज–पथलैया सडक खण्ड अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन रोकिएका थिए। दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षाकर्मीले हवाई फायरसहित अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

झडपमा ६ जना प्रहरी र ४ जना जेनजी प्रदर्शनकारी घाइते भएका छन्। दुई जनालाई थप उपचारका लागि वीरगन्ज लगिएको छ भने दुई जनाको सिमरा अस्पतालमै उपचार भइरहेको छ।

जिल्ला प्रशासन कार्यालयले तनाव कम गर्न दिउँसो नै जेनजी समूहलाई वार्ताको लागि बोलाए पनि प्रत्यक्ष वार्तामा प्रगति हुन सकेन। जेनजी पक्षले आफूहरूमाथि कुटपिट गर्ने सबैलाई पक्राउ गर्नुपर्ने अडान राखेपछि वार्ता रोकिएको हो। उनीहरूले सात–आठ जनाविरुद्ध जाहेरी दिएका छन्, जसअन्तर्गत दुई जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको छ।

जेनजीका स्थानीय संयोजक सम्राट उपाध्यायले ‘मुख्य आरोपी अरविन्द साह पक्राउ नपरेसम्म वार्ता सम्भव हुँदैन’ भन्दै आफ्नो अडान सडकमै रहेको युवामाझ सार्वजनिक गरेका थिए। भीडले पनि यही मागलाई सामूहिक रूपमा समर्थन जनाएको थियो।

यता जिल्ला प्रशासन कार्यालय सिमरामै वार्ता गर्न आग्रह गरिरहेको छ भने जेनजी समूह जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा छलफल हुनुपर्ने अडानमा छ। स्थानदेखि अटानसम्मका मतभेदले वार्ता पेचिलो भइरहेका बेला साँझदेखि भने सवारी आवागमन सञ्चालनमा आएको प्रशासनले जानकारी दिएको छ।

मन्त्री गुप्ता र जेनजी प्रतिनिधिहरू सिमरा पुगेसँगै अब वार्ता अगाडि बढ्ने सम्भावनाले स्थानीय अवस्थालाई फरक मोडमा लैजाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖