काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गर्नेहरूको हालत माधव नेपाल र भीम रावलकोजस्तो नहुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको सचिवालयको बैठकमा अध्यक्ष ओलीले आफूले विगतमा प्रतिस्पर्धा गरे पनि पार्टी एकता कायम गरेको तर अरू नेताहरूले प्रतिस्पर्धा गरेर पार्टी छाडेको दृष्टान्त दिँदै ओलीले यस्तो बताएका हुन् ।
बैठकमा कुनै पनि नेताले अध्यक्षमा उम्मेदवारी दिने नबताएपनि अध्यक्ष ओलीले माधव र रावलको उदाहरण दिँदै प्रतिस्पर्धा गर्न लागेका नेताहरूलाई चेतावनी दिएका हुन् ।
‘स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ तर माधव नेपाल र भीम रावलको जस्तो हुनु हुँदैन’, ओलीको भनाई उद्धृत गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
एमालेको ११ औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । ओलीले सोही बुझेर बैठकमा यस्तो चेतावनी दिएका हुन् ।
एमालेको नवौँ महाधिवेशनमा माधव नेपाल र दशौँमा भीम रावलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनीहरू दुवै अहिले एमालेमा रहेका छैनन् ।
