काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जेएफ केनेडीकी नातिनी टाटियाना स्लोसबर्गले आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी छन् ।
द न्यूयोर्करमा आर्टिकल लेखेर ३५ वर्षीया स्लोसबर्गले आफूलाई टर्मिनल क्यान्सर भएको र चिकित्सकले एक वर्षभन्दा कम बढी बाँच्न नसक्ने भनेको खुलासा गरेकी हुन् । स्लोसबर्गका अनुसार उनीलाई गत वर्ष एक्यूट मायलोइड ल्युकेमिया (एएमएल) को दुर्लभ रूप इन्भर्सन–३ भएको पत्ता लागेको थियो ।
स्लोसबर्गले २०२४ को मे महिनामा छोरी जन्माएपछि उनलाई यो रोग पत्ता लागेको थियो। सेप्टेम्बरमा उनी ‘एप्स्टिन–बार भाइरस’ बाट पनि संक्रमित भइन्, जसले उनका मिर्गौलामा गम्भीर असर गर्यो । दीर्घ उपचारपछि उनलाई फेरि हिँड्न सिक्नुपरेको थियो ।
‘अन्तिम क्लिनिकल ट्रायलको क्रममा मेरो चिकित्सकले एक वर्षजति बाँच्न सक्छौ भनेका छन्,’ स्लोसबर्गले भनेकी छन् । स्लोसबर्ग पर्यावरण पत्रकारका रूपमा सक्रिय थिइन् । उनी पूर्वराजदूत क्यारोलिन केनेडी र डिजाइनर एडविन स्लोसबर्गकी छोरी हुन्।
उनका पति जर्ज मोरानसँग उनका ३ वर्षको छोरा र १ वर्षकी छोरी छन्।
