• Saturday 17th of October 2026

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


  • धनकुटा खबर
  • .

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे ।

प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।

आदेशमा अगाडि भनिएको छ, ‘२०८२।८।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

प्रसाईँले आज (मंसिर ७) आन्दाेलन गर्ने बताएका थिए । तर, सरकार र प्रसाईँपक्षबिच शनिबार आन्दाेलन फिर्ताकाे सहमति भएकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖