• Saturday 17th of October 2026

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई दिलाए नियुक्ति


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका हुन् ।

स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

अनलाइनखबरसँगको प्रतिक्रियामा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकारे ।

‘नाता खोज्दै जाँदा त नेपालभर कोही न कोही नाता पर्छ होला नी,’ उनले अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा भने, ‘मैले नातेदार भनेर सबैलाई नियुक्त गरेको होइन ।’

प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाँउ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको उनले स्वीकारे ।

उनले भने, ‘नियुक्त भएका श्रेष्ठ थरका सबै मानिसहरू मैले नै नियुक्त गरेको भनेर अफवाह फैलाइयो, त्यो एकदमै गलत हो ।’

प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेका मन्त्रालयहरूमा प्रमुख स्वकीय सचिवको हैसियतले आफूले समन्वय गरिरहनुपरेको भन्दै उनले ती निकायमा नियुक्त भएका र जिम्मेवारी पाएका कतिपय व्यक्तिहरूको नाम समेत आफूसँग जोडिएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे ।

नियुक्तिहरूमा आफू र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम जबर्जस्ती मुछ्न खोजिएको भन्दै उनले बहालवाला सचिवका परिवारका सदस्य र निजामती सेवामा कार्यरत केही व्यक्तिहरूलाई पनि आफूसँग जोडेको गुनासो गरे ।

उनले भने, ‘प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गरेकाहरूलाई पनि मैले नियुक्त गरेको भनी हल्ला चलाइयो ।’-अनलाइन खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖