• Saturday 17th of October 2026

अन्तरिम सरकारले तोकेको निर्वाचनमा एमाले जान्छ :ओली


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको आगामी प्रतिनिधि सभा निर्वाचनमा आफूहरूको पार्टी सहभागी हुने स्पष्ट गरेका छन्। सोमबार गुण्डुस्थित निजी निवासमा नेपाल रिपब्लिक मिडियासँग खुलेर कुरा गर्दै ओलीले एमाले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै निर्वाचनमा जाने निर्णयमा अडिग रहेको बताए।

निर्वाचन आयोगले तोकेको मितिमै दल दर्ता गर्ने तयारी

ओलीका अनुसार निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले तोकेको समयमै एमालेले दल दर्ता गराउनेछ।

जेन–जी आन्दोलनपछि धेरै नयाँ दल खुलिरहेका बेला पुराना राजनीतिक दल पनि चुनाव लक्षित तयारीमा लागेका छन्। यस्तै अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको माग उठाइरहेको एमालेले चुनावमा जाने घोषणा विशेष रूपमा हेरिएको छ।

‘फागुन २१ को चुनाव एमालेकै कारण हुँदैन’ भन्ने अफवाह असत्य

पछिल्ला दिनमा एमालेका कारण फागुन २१ मा हुने भनिएको चुनाव नहुन सक्छ भन्ने चर्चालाई ओलीले पूर्णतः निराधार बताए।
“निर्वाचन रोकियो भने त्यसको सम्पूर्ण दोष सरकारकै हुनेछ,” ओलीले भने, “यो सरकार चुनाव गराउने उद्देश्यले आएको सरकार होइन।”

उनका अनुसार सरकारको असक्षम नेतृत्वले नै अनिश्चितता उत्पन्न गरेको हो, एमालेले होइन।

‘चुनावमा जान्छौं, तर बटमलाइन प्रतिनिधिसभा पुनर्स्थापना’

ओलीले पार्टी चुनावमा जान तयार रहेको दोहोर्‍याए पनि एमालेको आधारभूत राजनीतिक लाइन भने प्रतिनिधि सभा पुनर्स्थापना नै रहेको बताए।

उनले जेन–जी आन्दोलन तथा सो आन्दोलनले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अत्यावश्यक रहेको र त्यसका लागि प्रतिनिधि सभा पुनर्स्थापना नै पूर्वशर्त हुने जिकिर गरे।

जेन–जी प्रतिनिधिसहितको सर्वपक्षीय सरकार चाहिएको ओलीको दाबी

देश ‘ठूलो भड्खालो’ मा पुगेको बताएका ओलीले विवेकपूर्ण राजनीतिक निकासका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसहित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार विवेकी, सर्वसमावेशी र स्थिर राजनीतिक संयन्त्र बिना देशलाई संकटबाट निकाल्न कठिन हुने अवस्था सिर्जना भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖