जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपपछि अनुसन्धानको केन्द्रमा परिरहेको टीओबी समूह (TOB) ले राजनीतिक वा फ्रि तिब्बत आन्दोलनसँग कुनै पनि प्रकारको सम्बन्ध नरहेको प्रहरीले निष्कर्ष निकालेको छ। करिब डेढ महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणमा टीओबी पूर्ण रूपमा बाइकर्स ग्रुप मात्रै भएको पुष्टि गरेको हो।
चिनियाँ चासोपछि सक्रिय भएको अनुसन्धान
जेनजी आन्दोलनका दौरान टीओबी समूह सक्रिय देखिएपछि उत्तरी छिमेकी चीनले नेपाल सरकारसँग उक्त समूहबारे बजारमा चलेका सूचनाबारे चासो व्यक्त गरेको थियो। चीनले “केयरफुल अब्जरभेसन” चलाइरहेको बताएपछि सरकारले अनुसन्धान भइरहेको र सत्यतथ्य छिट्टै सार्वजनिक हुने प्रतिक्रिया दिए थियो।
तेन्जिन मात्रै तिब्बती मूलका, अन्य सदस्य नेपाली
२६ असोजमा समूहका प्रमुख व्यक्ति तेन्जिन दावा लामालाई पक्राउ गरी अनुसन्धान गर्दा उनीबाहेक समूहका अरू कुनै पनि सदस्य तिब्बती मूलका नभएको प्रहरीले प्रष्ट पारेको छ।
काठमाडौँ प्रहरी परिसरमा आयोजित कार्यक्रममा परिसर प्रमुख एसएसपी रमेश थापाले “टीओबी लेखिएको टिसर्ट लगाउने व्यक्ति तेन्जिन मात्रै भेटिएको” बताए। अन्य सदस्यहरूका लागि टीओबीको अर्थ ‘द ओरिजिनल ब्रदर्स’ मात्र रहेको उनले स्पष्ट पारे।
बाइकर्स ग्रुप मात्र भएको खुलासा
प्रहरीका अनुसार टीओबी समूहको स्थापना १० जुन २०२४ मा भएको हो। तीमध्ये ५७ सदस्य रहे पनि २५ जना मात्रै सक्रिय छन्। समूहले मोटरसाइकल यात्रालाई मुख्य गतिविधिका रूपमा लिएको छ।
उनीहरूले उपत्यकाभित्र सुन्दरीजल, शिवपुरी, स्वयम्भू ह्वाइट गुम्बा आदिबाट घुम्ने गरेको तथा उपत्यकाबाहिर मुस्ताङ, अपर मुस्ताङ, पोखरा, तातोपानी आदिमा पटक–पटक भ्रमण गरेको विवरण प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रहरीले समूहका १५ मोटरसाइकल नियन्त्रणमा लिएको छ र २६ सदस्यलाई निगरानीमा राख्दै छानबिन भइरहेको बताएको छ।
टीओबीको सुरुवात ट्याटु हाउसबाट
तेन्जिन नै टीओबी समूहका स्थापक, अध्यक्ष र लोगो डिजाइनर हुन्। उनी २०१७ देखि बौद्धस्थित ‘टीओबी ट्याटु हाउस’ सञ्चालन गर्दै आएका छन् र त्यहीँबाट टीओबीको कन्सेप्ट जन्मिएको बताइएको छ। समूह भने कहीं दर्ता छैन।
तेन्जिनसँगै सोनाम शेर्पा र एरेन राई पनि संस्थापक सदस्य रहेका छन्। लोगोमा रहेको ड्रागन चित्रले ‘वाइयर’ अर्थात् लडाकु चिनाउने भएकाले राखिएको बताइएको छ। लोगोमा ‘हाकिम’ लेखिएकोमा उनीहरू नेपाली र्यापर हाकिम (सुरेन्द्र गुरुङ) बाट प्रेरित रहेको बयान प्रहरीलाई दिएका छन्।
जेनजी आन्दोलनमा सहभागिता
२२ भदौमा टीओबी समूहले २३ गते हुने जेनजी आन्दोलनमा जानबारे इन्स्टाग्राममा छलफल गरेको प्रहरीले फेला पारेको छ।
२३ भदौको बिहान गोपीकृष्ण हल नजिक चिया बस्तीमा ३१ सदस्य २० मोटरसाइकलसहित जम्मा भएर बिजुलीबजारतर्फ गएको देखिएको छ।
समूहले बानेश्वरतर्फ बाइक पड्काउँदै भीडलाई उत्तेजित बनाएको दृश्य प्रहरीले पुष्टि गरेको छ। बानेश्वरको आकाशे पुलबाट फर्कने क्रममा तेन्जिन ढुंगा लागेको चोटपछि सामान्य उपचार गरी घर फर्किएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
२४ भदौमा भने समूह बाहिर ननिस्केको प्रहरीले जनाएको छ।
तेन्जिनको विवाद–नागरिकता, राहदानीदेखि लागुऔषधसम्म
प्रहरीको विस्तृत अनुसन्धानमा तेन्जिनले दिएको बाबु–आमाको विवरण मिलेन। बाबु–छोराले नै एक–अर्कालाई चिन्न नसकेपछि उनको नागरिकता नक्कली भएको पुष्टि भएको प्रहरीले बताएको छ।
तेन्जिनले गलत विवरण पेश गरी कागजात बनाएर नक्कली बाबु खडा गरेर नागरिकता र राहदानी बनाएको आरोप छ।
उनविरुद्ध लिखतसम्बन्धी कसुर, राहदानी तथा नागरिकता किर्तेमा मुद्दा अघि बढ्दै छ। साथै लागुऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनले ७,५०० धरौटीमा छाड्ने आदेश दिए पनि अन्य गम्भीर मुद्दा भएकाले तेन्जिन अझै हिरासतमा नै छन्।
