जेनजी आन्दोलनकी अगुवा तथा जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चुनाव आयोगमा दल दर्ता गराएको कदमलाई स्वागत गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेलाई “शंकाको सुविधासहित लोकतान्त्रिक यात्रामा स्वागत गर्नैपर्छ” भन्दै प्रतिकृया दिएकी छन्।
उनका अनुसार अहिले चुनावको विपक्षमा उभिएका सबै शक्ति संविधान र लोकतन्त्रलाई कमजोर पार्न चाहने वृत्तका हुन्। बमले लेखेकी छन्—
“संक्रमणकालीन अवस्थालाई झन् अप्ठ्यारो पार्दै संविधानमाथि हमला गरी लोकतन्त्र कमजोर बनाउन चाहनेहरू नै अहिले चुनावको विपक्षमा छन्। त्यस्तैहरूले अहिलेको सरकारलाई पनि कमजोर बनाउन खोजिरहेका छन्।”
ओलीमाथि कटाक्ष : “रिजेक्टेड प्रेमीजस्तो रुवाइ”
एमाले अध्यक्ष केपी शर्मा ओलीको हालको अभिव्यक्ति र अडानबारे पनि बमले कडा टिप्पणी गरेकी छन्। उनका अनुसार ओली अहिले सत्ताबाट बाहिरिनुपरेको पीडा, जनताबाट पाएको अस्वीकृति र राजनीतिक रूपले कमजोर बनेको अवस्थाको भावनामा तर्फ फर्किरहेका छन्।
उनले व्यंग्य गर्दै लेखेकी छन्—
“सत्तासँगको ब्रेकअपपछि जनताले गरेको रिजेक्सन सहन नसकेर गुन्डुमा संसद् पुनर्स्थापनाको सुगा रटाई बम्किरहनु भएको छ। रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तो छ उहाँको रुवाइ।”
जेनजी पक्षलाई पनि चेतावनी : “चुनाव रोक्दै देश कहाँ पुर्याउन खोजिएको हो?”
रक्षा बमले चुनाव हुन नदिनु भन्ने जेनजी पक्षका केही युवाहरूलाई समेत प्रश्न उठाउँदै कडा चेतावनी दिएकी छन्। उनका अनुसार चुनाव रोकिराखेर देशलाई शून्यतामा धकेल्न खोज्नेहरू लोकतान्त्रिक मूल्यविपरीत उभिएका छन्।
उनले लेखेकी छन्—
“आखिर चुनाव हुन नदिएर मुलुकलाई कुन शून्यतामा पुर्याउन खोजिएको हो? नाइ मलाई त्यही सत्ता चाहिन्छ भन्ने ओलीहरू र ‘हामी चुनाव गर्न दिन्नौं’ भन्ने जेनजी साथीहरू, स्पष्ट होस्— हामी त लोकतन्त्र चाहन्छौँ।”
“लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र”
अन्त्यमा बमले लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हुने बताउँदै राजनीतिक स्थिरता र जनमतको सम्मान नै अहिलेको आवश्यकता भएको उल्लेख गरेकी छन्। उनका अनुसार उन्नत लोकतन्त्रतर्फै मुलुक अघि बढ्नुपर्नेछ।
उनको प्रतिक्रियाले जेनजी आन्दोलनभित्रको विभाजित मत, एमालेको निर्णयले उत्पन्न राजनीतिक तरंग तथा चुनावलाई लिएर चलिरहेको बहस सबैलाई फेरि शीर्षमा ल्याएको विश्लेषकहरू बताउँछन्।
