नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते देशभर देखा परेको विध्वंसकारी घटनामा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्। नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै ओलीले यो विषयमा आफूले पाएको जानकारी सार्वजनिक गरेका हुन्।
ओलीलाई सोधिएको प्रश्न — “भदौ २४ को विध्वंसमा प्रचण्ड र माओवादी केन्द्रको संलग्नता रहेको बुझाइ तपाईंको हो?”
जवाफमा उनले भने —
“नेतृत्वलाई थाहा नहोला तर उहाँ (प्रचण्ड) ले देशभरिबाट पूर्वलडाकुहरू बोलाउनु भएको थियो। पछि मात्र थाहा भयो।”
उनका अनुसार भदौ २४ को भीषण घटनाको दिन विभिन्न क्षेत्रमा माओवादी कार्यकर्ताहरू झण्डा बोकेर उपस्थित देखिएको थियो। उनले भने—
“विभिन्न ठाउँमा झन्डा बोकेर माओवादी कार्यकर्ता उभिएका थिए। सेल्फी खिच्दै ‘दिग्विजय’ को घोषणासहित अपलोड गरेका पनि छन्।”
“प्रचण्ड बिहानै ‘म प्रधानमन्त्री हुने भएँ’ भन्दै खुसी थिए”
ओलीले दाबी गरेअनुसार— भदौ २४ गते बिहान प्रचण्ड सिंहदरबारमा बसेर आफू प्रधानमन्त्री बन्ने वातावरण तयार भएको भन्दै खुशी मनाइरहेका थिए।
उनका अनुसार प्रचण्डले त्यतिबेला भनिरहेका थिए—
“संयुक्त सरकार बनाऔँ, संविधान होइन आन्दोलनका बलमा क्रान्ति सम्पन्न गरेर म प्रधानमन्त्री बन्दैछु, तपाईंहरू पनि साथ दिनुपर्छ।”
ओलीले थपे—
“उहाँ त बिहानैदेखि प्रधानमन्त्री बन्ने छलफलमा हुनुहुन्थ्यो।”
“सिंहदरबारमा आगो लागेपछि प्रचण्ड आर्मी मुख्यालयमा कुदे”
ओलीले अर्को सनसनीपूर्ण दाबी गर्दै भने—
“सिंहदरबारमा आगो लागेपछि प्रचण्ड त्यहाँबाट कुदेर आर्मी कहाँ छिरे।”
उनका अनुसार यो घटनाले प्रचण्डलाई नेपाली सेनामाथि पूर्ण भरोसा रहेछ भन्ने संकेत गर्छ।
ओलीले हल्का व्यंग्य गर्दै भने—
“नेपाली आर्मीमाथि विश्वास गर्नुभएकोमा धन्यवाद छ।”
पूर्वतयारी थियो भन्न संकेत
ओलीका अनुसार भदौ २४ को अराजकता आकस्मिक थिएन, बरु पूर्वतयारीसहित गरिएको गतिविधि थियो। उनले दाबी गरे—
“त्यस दिनका गतिविधि नियाल्दा घटना स्वस्फूर्त थिएन। निर्देशन र संगठन भएको स्पष्ट देखिन्छ।”
ओलीको यो अभिव्यक्तिले भदौ २४ को घटनाबारे नयाँ राजनीतिक बहस फेरि चर्काउने संकेत दिएको छ। प्रचण्ड पक्ष भने यस्ता दाबीहरूलाई राजनीतिक आरोप भनेर खारेज गर्दै आएको छ।
