• Saturday 17th of October 2026

मन्त्रिपरिषद् बैठकका निर्णयमा ‘लुकाइयो’ चार सचिवको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गर्‍यो । तर, सरकारले उक्त निर्णय सार्वजनिक गरेन । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलन गरी सोमबारको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका थिए ।

ती निर्णयमा चार सचिवको सरुवा गरेको विषय उल्लेख छैन । तर, त्यो बैठकले सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि खाली भएको राष्ट्रिय योजना आयोग र सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि खाली भएको रक्षा मन्त्रालयमा पदपूर्ति गर्दा चार सचिवको सरुवा गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले रिक्त भएका दुई निकायमा सचिवलाई सरुवा गर्दा चार सचिवको सरुवा गरिएको जानकारी दिए । ‘एक जना सचिव अवकाशमा जानुभयो । एक जना मुख्यसचिवमा बढुवा हुनुभयो,’ मन्त्री खनालले रातोपाटीसँग भने, ‘ती दुई स्थानमा नयाँ सचिवको सरुवा गर्दा चार सचिवको सरुवा क्याबिनेटबाट भएको छ ।’

मंगलबार रातिदेखि मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीले अवकाश पाए । अर्यालका स्थानमा रक्षासचिव सुमनराज अर्याललाई बढुवा गर्ने निर्णय पनि त्यो बैठकले गरेको छ । मुख्यसचिव अर्यालले ५८ वर्षे उमेरहदका कारण र सचिव दुवाडीले सचिवको पाँचवर्षे पदावधिका कारण अवकाश पाएका हुन् । अर्याल र दुवाडीको अवकाश तथा अर्यालको मुख्यसचिवमा बढुवा गरिएको विषय भने मन्त्रिपरिषद् बैठकका निर्णयमा उल्लेख छ ।

मन्त्री खनालका अनुसार कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवामा सरुवा गरिएको छ । मधेश प्रदेहका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगको सचिवमा र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖