धनगढी । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभा पुनःस्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । तर, संसद पुनःस्थापनाको फैसला गरेरमा मार्ने भनेर धम्की दिइएको दाबी गरे ।
बुधबार राष्ट्रिय युवा संघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको जागरण भेलालाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले मुलुकका तीनवटै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक संकटमा रहेको बताए ।
‘जेनजी आन्दोलनका नाममा व्यवस्थापिक, न्यायपालिका र कार्यपालिका जलाएर सबैलाई आतंकित पार्ने काम भएको छ । अहिले तीनवटै अंग संकटमा छन् । संविधान पुनःस्थापनाको निर्णय फैसला गरिस भने तिमीलाई मार्छु भनेर धम्की दिइराखेका छन्,’ गुरुङले भने, ‘अहिले संविधान कोमामा छ । यसको उपचारको पहिलो समाधान संसद पुनःस्थापना भएपछि मात्र संविधान संशोधन, संवैधानिक सरकार बन्न सक्छ । संसद पुनःस्थापना पहिलो शर्त हो ।’
उनले संविधान पुनःस्थापना गरेर जेनजीसहितको सहभागीतामा सर्वपक्षीय सरकार बनाएर उनीहरुले उठाएका सुशासन कायम, भ्रष्टाचार नियन्त्रण लगायतका माग सम्बोधन गर्न सकिने बताए । राष्ट्रिय युवा संघले गरिरहेको कार्यक्रममा देशभर जेनजी युवाको नाममा अवरोध सिर्जना गर्न खोजिएको पनि उनको भनाई थियो ।
जागरण सभालाई सम्बोधन गर्दै एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जेनजीको नाममा नजेकपा एमालेमाथि आक्रमण भइरहेको बताएका छन् । भट्टले २३ र २४ भदौको घटना फरक–फरक भएको समेत बताए ।
उनले एमालेले राष्ट्रियता र देशको पक्षमा काम गरेकै कारण पार्टीमाथि आक्रमण भइरहेको पनि दाबी गरेका छन् ।
