काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीचको बहुप्रतीक्षित एकीकरण आइतबार औपचारिक रूपमा घोषणा हुने भएको छ। दुवै दलबीच एकतामा सहमति बनेसँगै विवेकशील साझा पार्टीले आफ्नो निर्णय सार्वजनिक गर्दै आइतबार राष्ट्रिय सभा गृहमा संयुक्त घोषणासभा आयोजना हुने जनाएको छ।
विवेकशील साझाले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले अघि सारेको वैकल्पिक राजनीतिक ध्रुविकरण र एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकता गर्ने निर्णय पारित गरेको हो।
परियारका अनुसार वैकल्पिक शक्तिको माग तीव्र बन्दै गएको र हाल देखिएको जेनजी विद्रोहले दुवै दलको एकीकरणलाई थप गतिशील बनाएको छ। देशलाई विकास, समृद्धि र सुशासनतर्फ उन्मुख गराउन निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्यसहित एकता गरिएको उनको दाबी छ।
पार्टी एकीकरण सम्बन्धी प्राविधिक विषयहरु भने दुवै दलका शीर्ष नेतृत्वले अन्तिम टुंगो लगाउने बताइएको छ।
विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले संस्थापक उज्वल थापाको योगदान र विवेकशील आन्दोलनलाई अझ सुदृढ बनाउने उद्देश्यले एकता भएको उल्लेख गर्दै यो कदमले वैकल्पिक राजनीतिलाई नयाँ मोड दिने विश्वास व्यक्त गरे।
