नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई फेरि प्रधानमन्त्री बन्ने ठूलो रुचि नरहेको स्पष्ट पारेका छन्। धादिङको बेनीघाट–रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले देशले मागे जिम्मेवारी नटार्ने बताउनुभएको हो।
कार्यक्रममा नेता राजेन्द्र पाण्डेले प्रचण्डलाई आगामी निर्वाचनपछि पुनः प्रधानमन्त्रीको रूपमा देख्ने इच्छा व्यक्त गर्दै आवश्यक भूमिकाबारे सुझाव दिएका थिए। त्यसको प्रतिक्रिया स्वरूप प्रचण्डले भने, ‘प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले माग्यो भने जिम्मेवारीबाट पन्छिने बानी पनि मेरो छैन।’
‘भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण सत्ता खोसियो’
प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाएको दाबी पनि गरे। उनले राम्रो काम गर्न खोज्दा खोज्दै गठबन्धन भित्रकै शक्तिहरूले आफूलाई हटाएको आरोप लगाए।
उनका अनुसार आफ्नो सरकार ढालिनुको मूल कारण भ्रष्टाचारमा संलग्न शक्तिहरूको प्रतिरोध थियो।
जेन–जी विद्रोहको दोष ओली सरकारलाई
कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जी आन्दोलन उत्पन्न हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाए। ‘ओली सरकारका कारण देश जताततै अव्यवस्थित बन्यो, युवाहरू सडकमा उत्रिन बाध्य भए,’ उनले भने।
प्रचण्डका अनुसार जेन–जीले उठाएका मागहरू अहिले पनि महत्वपूर्ण र न्यायोचित छन्।
‘देशको आवश्यकता अनुसार भूमिका निर्वाह गर्छु’
उनले पुनः दोहोर्याए—पद लोभका कारण आफू अघि नबढ्ने तर राष्ट्रले माग गरे जिम्मेवारीबाट पछि नहट्ने। ‘देशले माग्यो भने पन्छिनु मेरो स्वभाव छैन,’ उनले भने।
धादिङमा आयोजित कार्यक्रमका सहभागी नेताहरूले पनि आगामी राजनीतिक स्थिरता र विकासका लागि अनुभवी नेतृत्व आवश्यक पर्ने धारणा राखेका थिए।
