• Saturday 17th of October 2026

निर्वाचनअघि रास्वपा र कुलमान समूह एउटै मैदानमा आउने संकेत


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक समूहसँग सहकार्य र सम्भावित एकताबारे ‘सैद्धान्तिक सहमति’ बनेको खुलासा गरेका छन्। बुधबार नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेर बाहिरिएका वाग्लेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो संकेत दिएका हुन्।

वाग्लेका अनुसार पुराना दलहरूको परम्परागत राजनीतिक शैलीबाट जनताको मोहभङ्ग भइसकेको अवस्थामा नयाँ, सक्षम र काम गर्न सक्ने व्यक्तिहरू एउटै राजनीतिक ध्रुवमा उभिनुपर्ने विषयमा दुवै पक्ष एकमतमा पुगेका छन्। “हामी मिल्नैपर्छ भन्नेमा हाम्रो सैद्धान्तिक सहमति भइसकेको छ,” वाग्लेले भने, “आजै एकता हुने अवस्था नहोला, तर चुनावअघि हामी एउटै राजनीतिक मैदानमा उभिन्छौँ भन्ने विश्वास छ।”

बुधबार नै उनी एउटा सार्वजनिक कार्यक्रममा कुलमान घिसिङसँग लामो समय सँगै बसेका थिए। सो प्रसंग स्मरण गर्दै उनले भने, “म र कुलमानजी झण्डै दुई घण्टा सँगै थियौँ। संयोगले कुर्सी पनि छेउमै पर्‍यो। देशलाई नयाँ बाटो देखाउने जिम्मेवारी अब सक्षम मानिसहरूले लिनुपर्छ भन्ने कुरा दुवैले साझा रूपमा महसुस गरेका छौँ।”

वाग्लेले वर्तमान राजनीतिक संरचना र पुराना दलहरूले जरा गाडेर बस्ने शैलीका कारण देश परिवर्तनको बाटो रोकिएको दाबी गरे। उनका अनुसार, ‘कसले कुन पद पाउने’ भन्ने प्रश्नभन्दा पनि ‘देश चलाउन आवश्यक बहुमत कसरी ल्याउने ?’ भन्ने मुख्य विषय हो। “पद–असदको कुरा गौण हो,” वाग्लेले थपे, “देश सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासनको ढोका खोल्ने काम गर्न सक्षम व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउनु प्राथमिकता हो।”

उनले रास्वपा र कुलमान घिसिङको विचारधारा धेरै हदसम्म मेल खाएको उल्लेख गर्दै बाँकी ‘प्राविधिक विषय’ पनि चुनावअघि मिल्ने दाबी गरे। “हामी उच्च राजनीतिक संस्कारसहित नयाँ विकल्प दिन तयार छौँ,” वाग्लेले भने, “अब शक्तिशाली वैकल्पिक ध्रुव निर्माण गरेर पुरानो राजनीतिक सिन्डिकेटलाई चकनाचुर बनाउने समय आएको छ।”

रास्वपा सभापति रवि लामिछाने अहिले नख्खु कारागारमा रहेकाले पार्टीभित्रका पछिल्ला राजनीतिक संवादहरू कारागारमै भइरहेका छन्। लामिछानेले पनि विगतमा ‘नयाँ वैकल्पिक शक्ति निर्माण’ को आवश्यकता प्रस्ट रूपमा बताउँदै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖