पूर्व एआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। बुधबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। प्रहरी संगठनभित्र उच्च पदसम्म पुगेका पोखरेललाई पार्टीभित्र विशेष स्वागत गरिएको छ।
पोखरेल नेपाल प्रहरीको आइजीपीका निर्विवाद दाबेदार मानिएका थिए। तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई रोक्दै १७ महिना जुनियर अधिकारी धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो। सिंहले आइजीपी बन्न २० करोड रुपैयाँभन्दा बढी रकम चलाएको आरोप सोही बेला व्यापक रूपमा चलेको थियो। पोखरेलले पनि आफूले प्रहरी प्रमुख बन्ने क्रममा आरजु देउवा पक्षका केही व्यक्तिहरूले रकम बार्गेनिङ गरेको दाबी गरेका थिए।
डीआइजीदेखि एकल एआइजी हुने क्रममा समेत उच्च राजनीतिक हस्तक्षेप भोगेका पोखरेलले आफूमा गरिएको अन्यायविरुद्ध सर्वोच्च अदालत धाएका थिए। तर अदालतले समेत साथ नदिएपछि उनले प्रहरी सेवाबाट राजीनामा दिए। ओखलढुंगाको सिद्धिचरणमा जन्मिएका पोखरेललाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको व्यक्तिगत नाता जोडेर तत्कालीन सरकारले पूर्वाग्रह गरेको आरोप पनि दीर्घकालसम्म सुनिँदै आएको छ।
रास्वपामा प्रवेश गरेसँगै उनले अब प्रत्यक्ष राजनीतिक भूमिकामा सक्रिय हुने संकेत गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी ओखलढुंगाबाटै उम्मेदवार बन्न सक्ने आकलन गरिँदैछ। रास्वपाले पनि पूर्व प्रहरी अधिकृतको प्रवेशले संगठन थप सुदृढ भएको बताइरहेको छ।
