नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायु सेवा निगमका दुई क्याप्टेन विजय लामा र सोनी राणालाई उडान सुरक्षित्तासम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गर्दै सक्रिय जिम्मेवारीबाट निलम्बन गरेको छ।
क्यानका अनुसार उनीहरूले जहाजभित्र फोटो तथा भिडियो खिचेर सार्वजनिक गर्ने काम गरेका थिए, जसले अन्तर्राष्ट्रिय हवाइ सुरक्षा मापदण्ड र नेपालको उडान सुरक्षा नियमको उल्लङ्घन भएको मानिएको छ।
क्यानका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले दुबै क्याप्टेनलाई स्पष्टीकरण मागिएको र अहिले प्रारम्भिक निलम्बन गरिएको जानकारी दिए। अब नेपाल वायु सेवा निगमले विस्तृत छानबिन प्रतिवेदन क्यानलाई बुझाएपछि मात्र उनीहरूको निलम्बन फुकुवा गर्ने कि जिम्मेवारीबाटै हटाउने भन्ने निर्णय हुनेछ। छानबिन सकिनु अगाडि उनीहरूलाई जहाज उडाउन पूर्ण रोक लगाइएको छ।
क्याप्टेन विजय लामा यसअघि पनि एकभन्दा बढी पटक यस्तै प्रकृतिका कारण निलम्बनमा परेका थिए। ०८१ जेठ र ०७६ बैशाखमा क्यानले स्पष्टीकरण सोधेर अस्थायी निलम्बन गरेका थिए, तर उनले लिखित जवाफ दिएपछि फुकुवा गरिएको थियो। कलाकारसमेत रहेका लामाले सामाजिक सञ्जालमा भ्लग बनाउने क्रममा जहाजभित्रका गतिविधि सार्वजनिक गर्दै आएका छन्, जसले बारम्बार विवाद निम्त्याएको छ।
पछिल्लो समय सुशीला कार्की नेतृत्वको सरकारले उनलाई पर्यटन मन्त्री बनाउनुपर्ने चर्चा चलिरहेकै बेला पुनः उनी निलम्बनमा परेका छन्। निगमले छानबिन प्रतिवेदन बुझाएपछि मात्रै अन्तिम निर्णय हुने भएकाले उनीहरू दुई क्याप्टेनको उडान भविष्य अहिले अनिश्चित बनेको छ।
