जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई लिएर गम्भीर आरोप लगाएका छन्।
“प्रधानमन्त्री निवासमा उहाँले दुई महिनाभित्र काम गर्न नसके सत्ता छोड्ने वाचा गर्नुभएको थियो। तर दुई महिना त परै जाओस्, दशैँ–तिहार–छठ सकिएर पनि काम गर्न सक्नु भएन, न पद छोडे,” गुरुङ भन्छन्।
उनका अनुसार गृहमन्त्री बन्नुअघि अर्याल स्वयंले, “मेरो विज्ञता कानुनमा हो, म कानुन मन्त्रालयमै जान्छु, गृहमा योग्य मान्छे राख्नुस्” भनेर आग्रह गरेका थिए। यही आधारमा जेनजी समूहले हर्क साम्पाङको नामसम्म प्रधानमन्त्रीसमक्ष पुगेको थियो।
“तर बेलुका न्युज हेर्दा उहाँ आफैँ गृहमन्त्री नियुक्त हुनुभयो। यो ढाँट–छल बाहेक केही होइन,” गुरुङ भन्छन्, “त्यही कारण हामी त्यसबेला आक्रोशित भएका थियौँ।”
