• Saturday 17th of October 2026

गायिका ज्योति मगरले दिइन् मेयर बालेनलाई दनक


  • धनकुटा खबर
  • .

गायिका ज्योति मगरले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सातवटा प्रश्न सार्वजनिक रूपमा तेर्स्याएकी छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत मेयर र उनका समर्थकको गतिविधि, कामको शैली र चुकेका दाबीहरूबारे व्यंग्यात्मक तर तिखो ढंगले प्रश्न उठाएकी हुन्।

ज्योतिले पहिलो प्रश्न तिहारको १० दिन लामो बिदाको उदाहरण दिंदै, “तिहार सक्यो कि सकेन?” भन्दै मेयरको कार्यगत सक्रियतामाथि कटाक्ष गरिन्। दोस्रो प्रश्नमा उनले महानगरको भवन निर्माण सुरु भयो कि भएन भन्ने विषयमा टिप्पणी गरिन्। तेस्रो प्रश्नमा काठमाडौंको फोहोरलाई ऊर्जा उत्पादनको विषय बनाउँदै, “फोहोरबाट कति बिजुली उत्पादन भयो?” भन्दै बालेनको विगतका दाबीप्रति प्रश्न उठाइन्।

उनले चौथो प्रश्नमा अचेल महानगरका बैठक पाँच मिनेटमै सकिने गरेको चर्चा गर्दै त्यसको कारण मागे। पाँचौं र छैटौं प्रश्न मेयरका गतिविधि र उनको वरिपरि हुने ‘भिजुअल टिम’तर्फ केन्द्रित थियो। उनले लेखिन्—“डोजर चलाउँदा, पार्टी गर्दा, र्‍याप ब्याटलमा अतिथि जाँदा क्यामेरा तेर्स्याउने भाइहरू अहिले कता हराए?”

अन्तिम प्रश्न नगर प्रहरी प्रमुख राजु पान्डेको बहुविवाह विवादबारे थियो। उनले सोधिन्—“मेयरका ‘हनुमान’ भनिएका नगर प्रहरी प्रमुख राजु पान्डे जीको बहुविवाह काण्ड कहाँ पुग्यो?”

ज्योतिका यी प्रश्नहरू सामाजिक सञ्जालमा व्यापक तरंग पैदा भएका छन्। बालेनसमर्थक र आलोचक दुवैले प्रतिक्रिया दिइरहेका छन्। मेयर शाहले भने यसबारे कुनै टिप्पणी गरेका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖