• Saturday 17th of October 2026

प्रचण्डको दाबी, “यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो”


  • धनकुटा खबर
  • .

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर राष्ट्रिय संकटमा पुगेको दाबी गर्दै वामपन्थी र राष्ट्रभक्त सबै शक्तिहरूलाई एकजुट हुन अपिल गरे। चिप्लेढुंगामा आयोजित एकता सन्देश सभामा उनले राष्ट्रिय स्वाधिनता कमजोर बन्दै गएको र ठूलो संकट रोक्न राजनीतिक एकता आवश्यक भएको बताए।

प्रचण्डले कांग्रेस र एमालेको दुई तिहाइ बहुमतको अवधिमा पनि जनताले अपेक्षित लाभ नपाएको टिप्पणी गरे। उनले मुलुक अहिले संकटमा फस्नुको कारण कांग्रेस र एमालेको नेतृत्व नै जिम्मेवार भएको बताए। “हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौं, तर हटाइयो। हाम्रो लडाइँ रोकियो” प्रचण्डको भनाइ थियो।

एकता अभियान राष्ट्रका लागि, केवल चुनावका लागि होइन

उनी अनुसार सुरु गरिएको एकता अभियान चुनाव जित्न मात्र होइन, राष्ट्र रक्षा, स्वाधिनता र भविष्यको समृद्धिको आधार बनाउने अभियान हो। उनले भने, “चुनाव त जित्छौं, तर राष्ट्र बचाउन जनताको एकता अनिवार्य छ।”

चुनाव फागुन २१ मै हुनुपर्छ

तोकिएअनुसार फागुन २१ गतेकै दिन निर्वाचन हुनुपर्ने उनको धारणा छ। प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण तयार गर्न सक्रिय भूमिका खेल्न आग्रह गरे। “सरकारले जसको जनाधार छ उसलाई बेवास्ता गरेर चुनावी माहोल बनाइनु हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो” उनले स्पष्ट गरे।

जनता जागरूक नभए थप संकट आउने चेतावनी

उनले राष्ट्रभक्त भावना कमजोर भए मुलुक फेरि नयाँ संकटतर्फ धकेलिने चेतावनी दिए। सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधिनता र चुनावसम्बन्धी प्रश्नहरूले देश राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको संकेत गरेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖