• Saturday 17th of October 2026

आफूखुसी उमेदवारी घोषणा नगर्नोस् :रास्वपा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूखुसी उमेदवारी घोषणा नगर्न सदस्यलाई आग्रह गरेको छ । पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले यस्तो अभिव्यक्ति दिएको भन्दै सचेत गराइएको हो ।

आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्न चाहनेको संख्या बढ्दो छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उमेदवार हुने, उमेदवारको आकांक्षी रहेको, उमेदवारी घोषणा गरिसकेको वा उमेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उमेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ,” पार्टीले भनेको छ ।

पार्टीबाट हाल रुपन्देही क्षेत्र नम्बर–३ का निम्ति मात्र उमेदवार औपचारिक रूपमा चयन गरिएको रास्वपाले जनाएको छ । “यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उमेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ,” उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले भनेका छन् ।
सोमबार (मंसिर १५) जारी आचार्यद्वारा हस्ताक्षरित ‘हार्दिक अनुरोध’ शीर्षकको सूचनामा उमेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको उल्लेख छ ।

“तसर्थ, पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उमेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचारप्रसार वा गतिविधि नगर्न/नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ,” उनले भनेका छन् ।

उमेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न रास्वपाले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖