काठमाडौ । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयन लगभग सम्पन्न भएपछि पार्टीभित्रको नेतृत्व संघर्ष झनै तीव्र बनेको छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार कोशी प्रदेशका केही जिल्लाबाहेक सबै ठाउँमा प्रतिनिधि चयन टुंगिएको छ। करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अनुमान गरिएको छ।
प्रतिनिधि चयनको प्रक्रियासँगै पार्टीभित्र दुई स्पष्ट ध्रुव तयार भएका छन्—अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष। प्रतिनिधि चयनकै क्रममा दुवै समूहले खुला रूपमा शक्ति परीक्षण गरेको देखिएको छ।
यसअघि ओलीले तेस्रो कार्यकालका लागि बाधा हुने विधानका केही प्रावधान संशोधन गराइसकेका छन्। दुई कार्यकाल सीमा र ७० वर्ष उमेर सीमा हटाइएपछि ओलीले पुनः अध्यक्ष बन्ने बाटो सुरक्षित भएको छ। तर, यो कदमलाई पोखरेल पक्षले खुलेरै चुनौती दिँदै आएको छ।
ईश्वर पोखरेल पक्षमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, गोकर्ण बिष्टलगायत नेताहरू सक्रिय छन्। यसैले, महाधिवेशनमा ‘ओली–पोखरेल’ प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ।
उता, ओली पक्षले भने ‘सहमतिको महाधिवेशन’ को नारासहित चितवन महाधिवेशनको मोडेल दोहोर्याउने संकेत दिएको छ। ओली निकट नेताहरूका अनुसार अध्यक्षले अन्तिममा प्रतिनिधिमाथि प्रस्तुत गर्ने सूची नै नेतृत्व चयनको आधार हुने संभावना छ।
पार्टीभित्र बढ्दो ध्रुवीकरणका बीच दुवै समूह पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको शक्तिशाली प्यानल बनाउने तयारीमा छन्। प्रतिनिधिहरू निर्वाचित हुने क्रममा विभिन्न जिल्लामा देखिएको समूहगत भोट विभाजनले पनि महाधिवेशनमा तीव्र शक्ति परीक्षण हुने संकेत दिएको छ।
बरिष्ठ नेताहरूको मूल्याङ्कनमा यो महाधिवेशन एमालेभित्र दशककै कडा आन्तरिक प्रतिस्पर्धा बन्ने छ, जसको प्रभाव पार्टीको भविष्य र राष्ट्रिय राजनीतिको समीकरणमा ठूलो रूपमा देखिनेछ।
