• Saturday 17th of October 2026

२५ वर्षदेखिको प्रचण्डको साथ लक्ष्मीदेवी गुरुङले छोडिन्


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपालका राजनीतिक घटनाक्रममा लामो समय सक्रिय भूमिकामा रहेकी तथा जनयुद्धकालीन मोर्चाबाट उदाएकी रामेछापकी लक्ष्मी देवी गुरुङले २५ वर्ष लामो माओवादी यात्राको पूर्णविराम लागेको घोषणा गरेकी छिन् ।

पार्टी विघटनपछि वैचारिक असहमति र सङ्गठनभित्रको विचलनका कारण आफू अलगिएकाे उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै लेखिएको विस्तृत पत्रमार्फत बताएकी हुन् ।

गुरुङले तीन सातादेखि पार्टी क्रियाकलापबाहिर बसे पनि विभिन्न साङ्गठनिक सर्कुलर आइरहँदा आफ्ना कारणहरू स्पष्ट पारेको बताइन् ।

उनले पार्टीभित्र “अस्वस्थ अन्तरसंघर्ष, अन्तरविरोध, कार्यशैलीको गिरावट र वैचारिक सिद्धान्तमाथि आक्रमण” बढ्दै गएको दाबी बताइन् ।

गुरुङले पार्टीभित्र आफूले भोगेको भेदभाव र असहयोगका केही उदाहरणसमेत उल्लेख गरेकी छन् ।

चुनावमा टिकट पाएपछि आफ्नै केही नेताबाट ‘नो–भोट अभियान’ चलाइएको

‘सहिदको रगतको ब्याज खाएको’ जस्ता अपमानजनक आरोप सहनुपरेको
एकल महिला भएको कारण सामाजिक रूपमा हेपिएको
सङ्गठन सुधारको आवाज उठाउँदा ‘अल्पमतको दण्ड’ भोग्नुपरेको
पार्टी विघटनबारे टिप्पणी गर्दै उनले प्रचण्डको नेतृत्वमा वैकल्पिक मार्ग खोजिन नसकेको, जनयुद्धका सपना संरक्षण गर्न नसकिएको र नवगठित पार्टी कुनै पनि मापदण्डबाट “कम्युनिष्ट–क्रान्तिकारी” नठहरिने उनले निष्कर्ष निकालेकी छन् ।

गुरुङले पार्टी तथा प्रदेश नेतृत्वमा कामका क्रममा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖