• Friday 16th of October 2026

१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की


  • धनकुटा खबर
  • .

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने संस्थाका अध्यक्ष बताएका प्रकाश पाठकले १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले यसबारे खोजी र अनुसन्धान अघि बढाएको हो।

यसरी धम्की दिँदै पठाइएको पत्रमा प्रकाश पाठकको नाम उल्लेख छ।
अख्तियार प्रमुख राईलाई लेखिएको पत्रमा भनिएको छ, ‘हाम्रो केन्द्रीय कमिटीले तपाईंसहित १० जना भ्रष्ट प्रशासक र अस्थिर सरकारका कारण सत्तामा आएकाको हत्या गर्ने निर्णय गरेकोमा दु:खी छौं। तपाईंले राजीनामा दिनुपर्छ वा मारिनुपर्नेछ। तपाईंले १० दिनभित्र राजीनामा दिएमा हामी आक्रमण गर्ने छैनौं।’

पाठकले भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीलाई लगाएर यो आक्रमण गर्ने उल्लेख गरेका छन्। तर जिम्मेवारी भने आफूले लिने पत्रमा भनिएको छ।

यो पत्र केहीदिन अघि नै उच्चपदस्थ व्यक्तिहरूलाई पठाइएको थियो। यसरी इमेल आएपछि नेपाल प्रहरीका विभिन्न निकायले यससम्बन्धी अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रकाश पाठकको खोजी भइरहेको छ।

‘यसबारे हामीले पनि खबर पाएका छौं। प्रहरीको विभिन्न युनिटले अनुसन्धान गरिरहेको छ। इमेल पठाउने व्यक्ति नेपालमा भएको देखिन्न,’ ती प्रहरीले भने, ‘हामी अनुसन्धानमै छौं।’

यस घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लगायत अन्य इन्टिलिजेन्स युनिटहरूले खोजी गरिरहेका छन्।

प्रकाश पाठक भन्ने व्यक्तिको समूह कति ठूलो छ भन्नेबारे खुलिसकेको छैन। उनले आफ्नो फेसबुकमार्फत एउटा भिडिओ समेत राखेका छन्।
भिडिओमा उनले आफू उक्त समूहको अध्यक्ष भएको र अख्तियार प्रमुख राई लगायत १० जनाको हत्या गर्ने योजना सुनाएका छन्। यस्तै उनले प्रहरीले आफूलाई खोजी गरिरहेकोबारे पनि अवगत नै रहेको बताएका छन्।

‘मेरो कल डिटेल हेर्नका लागि अदालतबाट अनुमति लिनुपर्थ्यो। मैले सूची सार्वजनिक गरेको केही घण्टामै प्रहरी प्रशासनको दुरूपयोग गरेर प्रेम राईले जुन किसिमको धरपकड गरिरहेको छ मेरो केटाहरूलाई, पाँच सात जना पक्राउ भएको मैले सुनेको छु,’ उनले भनेका छन्, ‘यति छिटो अपराधीलाई पक्राउ गर्ने हो भने नेपालमा सुशासन कायम हुन्थ्यो। त्यतातिर ध्यान छैन। मैले जुन किसिमको थ्रेट दिएको थिएँ, खुरूक्कन राजीनामा दिनुको सट्टा आज दुई दिन भयो, मेरो विचारमा प्रेम राईको आयु त्यति लामो छ जस्तो मलाई लाग्दैन। उनलाई १० दिन भन्दा अगाडि नै सक्काइदिन्छौं।’

आफू भारतको जुनजुन स्थानमा बसिरहेको हो त्यहाँत्यहाँ प्रहरी पुगेको पनि उनले बताए।

‘यदि राजीनामा नदिने हो र प्रहरी र अदालतको दुरूपयोग गरेर जुन किसिमको काम गरिरहेको छ। मैले इन्डियाको जुनजुन ठाउँमा शरण लिएको थिएँ, त्यो सबै ठाउँमा उनले प्रहरी पठाएर, मलाई घरको ओनर (घरधनी)ले फोन गरेको थियो। ८/१० ठाउँमा जहाँ म बसेको थिएँ प्रहरी पठाएर मलाई पक्राउ गर्न खोजिँदैछ, तर सक्दैन। म अति नै गोप्य ठाउँमा छु। म एक घण्टामा चार ठाउँ परिवर्तन गरिरहेको छु,’ उनले भने, ‘म भन्न चाहन्छु, मलाई समात्नुको सट्टा, तँ आफ्नो ज्यानको सुरक्षा गर।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖