• Friday 16th of October 2026

एमालेभित्र चर्कियो तनाव,असन्तुष्ट समूह र अर्को समूह बिच झडप-कार्यकर्ता बिच हात हालाहाल


  • धनकुटा खबर
  • .

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो कार्यकर्ताबीच हात हालाहालको स्थिति सिर्जना भएको छ।

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा अव्यवस्था र पक्षपात भएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका आदिवासी जनजाति लोकतान्त्रिक महासंघका असन्तुष्ट सदस्यहरू कार्यालय पुगेपछि वातावरण तनाबग्रस्त बनेको हो।

असन्तुष्ट समूहका सदस्यहरू संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग कुरा राखिरहेका बेला अर्का केही समूह आएर वादविवाद सुरु भएको थियो। विवाद चर्कँदै गएपछि दुवै पक्षबीच धकेलाधकेली र हात हालाहालसम्म पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आदिवासी जनजाति महासंघका नेताहरूले डेढ वर्षसम्म विधि नअपनाई प्रतिनिधि छनोट गरिएको भन्दै कडा आपत्ति जनाए। उनीहरूले लोकतान्त्रिक प्रक्रिया अपनाउनुपर्ने माग राख्दै नेतृत्वसमक्ष आफ्नो असन्तुष्टि खुला रूपमा व्यक्त गरेका थिए।

एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ। देशभरबाट अधिकांश प्रतिनिधि चयन भइसकेका छन्। तर चयन प्रक्रियामा कमजोरी भएको आरोप उठेपछि पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको देखिएको छ।

पार्टी नेतृत्वले भने घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। महाधिवेशन नजिकिँदै गर्दा पैदा भएको यो आन्तरिक तनावले एमालेभित्रको व्यवस्थापन चुनौती थपिएको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖