• Friday 16th of October 2026

एमाले उपाध्यक्षको तयारीमा रहेका भीम आचार्य अख्तियारको फन्दामा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले)को ११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका भीमप्रसाद आचार्यविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार प्रकरणमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ५५ जना विरुद्ध मुद्दा दायर गरेको हो। त्यसमा एमाले नेता आचार्य पनि परेका हुन्।
एमालेको महाधिवेशन आउन पाँच दिन बाँकी छ। एमालेको ११औं महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने तयारी छ।

एमाले महाधिवेशनमा आचार्य उपाध्यक्षका उम्मेदवार बन्न लागेका थिए। उपाध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका थिए। त्यसका लागि उनले तयारी पनि गरिसकेका थिए। महाधिवेशनका लागि छनोट भएर आएका महाधिवेशन प्रतिनिधिसँग भोट माग्न थालेका थिए।

तर, महाधिवेशनको पाँच दिनअघि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको वेला भ्रष्टाचार गरेको अभियोग लागेको छ। मन्त्री हुँदा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्षका हैसियतले उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उनी २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। उनी कोशी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्। उनी २०७८ भदौमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

अब उनले एमाले पदाधिकारीमा उम्मेदवार हुन पाउँछ कि पाउँदैनन? एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले यस विषयमा पार्टी गम्भीर रहेको प्रतिक्रिया दिए। उनले भने, ‘यसमा गम्भीर ध्यानाकर्षण भएको छ। पार्टी गम्भीर छ। हाम्रा संवैधानिक, कानूनी प्रावधान के छन्, त्यसको आधारमा पार्टीले आफ्नो धारणा बनाउँछ।’-नेपाल खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖