• Friday 16th of October 2026

एमाले महाधिवेशन: ५ लाख जनता उतार्ने बस्नेतको दाबी, युवाहरूलाई उच्च प्राथमिकता


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आसन्न ११ औं महाधिवेशनमा ५ लाखभन्दा बढी जनपरिचालन गर्ने तयारी भएको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता बस्नेतले महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको र व्यापक जनसहभागिता जुटाइने दाबी गरेका हुन्।

बस्नेतले महाधिवेशनको उद्घाटन समारोहमा करिब ५ लाख जनता उतार्ने योजना रहेको सुनाए। उनले भने, ‘व्यवस्थापकीय हिसाबले हाम्रो लगभग सबै तयारी सकिएको छ। जनपरिचालनमा ५ लाख जनता उतार्ने तयारी छ। युवा संघको तर्फबाट ५० हजारभन्दा बढी जेन-जी युवाहरू ल्याउने तयारी भएको छ।’

यसैगरी, ‘नेसनल भोलेन्टियर फोर्स’ ले उद्घाटन सत्रमा १० हजार र बन्दसत्रमा ५५० स्वयंसेवक परिचालन गर्ने उनले जानकारी दिए। काठमाडौं उपत्यकाका तीन जिल्ला, विशेष कमिटी र सम्पर्क कमिटीहरूलाई जनपरिचालनमा विशेष केन्द्रित गरिएको उनले बताए।

महाधिवेशनमा आउने सवारी साधनहरूका लागि पार्किङको पनि उचित व्यवस्था गरिएको बस्नेतले बताए।

पूर्वबाट आउने सवारीका लागि भक्तपुरको जगातीसम्म आउन दिइने र त्यहाँ रहेको प्लानिङ क्षेत्रमा करिब ७ सय गाडी अट्ने व्यवस्था मिलाइएको छ।

पश्चिमबाट आउनेहरूका लागि गठ्ठाघर क्षेत्र, नागरिक उड्डयन प्राधिकरणको जग्गा, टक्सार विभागको जग्गा र पुरानो बाटोको २० मिटर चौडा हाइवेमा पार्किङको व्यवस्था गर्ने योजना रहेको उनले जानकारी दिए।

नेता बस्नेतले महाधिवेशन प्रतिनिधि छनोटको काम लगभग सकिएको र केही विवादित स्थानमा पनि सहमतिमै टुंगिने बताए। उनले यसपटकको महाधिवेशनमा युवा सहभागितालाई संस्थागत गरिएको दाबी गरे।

‘हामीले प्रतिनिधिमा प्रत्येक क्षेत्रबाट कम्तीमा एक जना ४० वर्ष मुनिका युवा अनिवार्य गरेका छौं, जसले गर्दा झन्डै एक चौथाइ युवाहरूको प्रतिनिधित्व सुनिश्चित भएको छ,’ उनले भने, ‘केन्द्रीय कमिटीमा पनि कम्तीमा १० प्रतिशत युवालाई स्थान दिनुपर्छ भन्ने छ।’

बस्नेतले एमाले राष्ट्रियता, विकास र समृद्धिको एजेन्डा बोक्ने पार्टी भएको भन्दै आम जनतामा देखिएको निराशालाई चिर्ने दाबी गरे।

उनले ‘जेनजी मुभमेन्ट’ का नाममा भएका ध्वंसात्मक गतिविधिहरूलाई पुनर्निर्माण गर्ने र जायज अपेक्षाहरूलाई सम्बोधन गर्ने काम एमाले र अध्यक्ष केपी ओलीले मात्र गर्न सक्ने जिकिर गरे।

‘यो महाधिवेशन भव्य र सभ्य हुनेछ। एमाले नै राष्ट्रियता र विकासको संवाहक हो भन्ने अनुभूति दिने गरी हामी काम गर्छौँ,’ उनले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖