काठमाडौ । विभिन्न अभिव्यक्तिका कारण निरन्तर विवादमा रहेका मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं सोमबार सिंहदरबार पुगेपछि प्रधानमन्त्री सुशीला कार्की समक्ष औपचारिक रूपमा माफी मागेका छन्।
सरकारसँग आफ्ना २७ बुँदे मागबारे वार्ता गर्न पुगेका प्रसाईंले विगतमा आफूले प्रधानमन्त्रीबारे सार्वजनिक रूपमा दिएको टिप्पणी स्मरण गर्दै, “मैले भनेका कुरामा सरी भन्छु, माफी माग्छु” भन्दै क्षमायाचना गरेका हुन्।
वार्ताका क्रममा प्रसाईंले प्रधानमन्त्रीलाई दुर्गा माताको मूर्ति उपहार दिएका थिए। सहभागी स्रोतका अनुसार उनले प्रधानमन्त्रीलाई “तपाईं माता हो, दुर्गा हो—दुर्गाको रुप धारण गरेर काम गर्नुहोस्” भन्ने सुझावसमेत दिएका थिए। यसअघि उनीहरूले प्रधानमन्त्रीलाई बुद्धको मूर्ति पनि उपहार दिएका थिए।
प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसहितको टोलीसँग भएको छलफलमा प्रसाईंले मंसिर ६ देखि निरन्तर उठाउँदै आएको मागहरूको पूर्ण कार्यान्वयनप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीको निर्देशनअनुसार सोमबार प्रसाईंलाई समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफलका लागि समय निर्धारण गरिएको थियो।
सरकार–प्रसाईं समूहमाझको वार्ता निरन्तर विवाद र विरोध प्रदर्शनको पृष्ठभूमिमा भएको हो। भेटमा प्रसाईंले आफूका केही अभिव्यक्तिले गलत बुझाइ भएको स्वीकार गर्दै वातावरण सहज बनाउन चाहेको संकेत दिएका छन्।
