• Friday 16th of October 2026

जेनीजी आन्दोलनमा ७६ युवाको मृत्युबारे आयोगको सोधपुछ : आइजिपी कार्की उपस्थित,पूर्व प्रधानमन्त्री ओली लाइनमा


  • धनकुटा खबर
  • .

भदौ २३ र २४ गते देशभरि भएका जेनजी आन्दोलन र त्यसपछि देखिएको विध्वंसक घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी दानबहादुर कार्कीको बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइएका कार्कीसँग आयोगले दुई दिनभित्र भएका आतङ्कपूर्ण घटना, प्रहरीको भूमिकामा देखिएका कमजोरी, ७६ जनाको मृत्यु, सुरक्षा व्यवस्था विफलता लगायत विषयमा विस्तृत सोधपुछ गरेको हो।

उक्त घटनाक्रमका बेला कार्की उपत्यका प्रहरी प्रमुख (AIG) रहेका थिए। अहिले उनी प्रहरी महानिरीक्षक (IGP) छन्। आयोगका प्रवक्ता विज्ञान शर्माका अनुसार कार्कीको बयान मंगलबार पनि जारी रहनेछ, किनकि अझै धेरै विषयमा स्पष्टता आवश्यक छ।

आयोगले यसअघि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङसँग पनि बयान लिई सकेको छ। अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ। आयोगका अनुसार पर्सिसम्म दुवैलाई उपस्थित हुन पत्र पठाइनेछ।

ओलीले भने आफू आयोगमा उपस्थित नहुने संकेत गर्दै आएका छन्। तर प्रधानमन्त्री रहँदा ७६ जना युवाको मृत्यु, राज्यका अति महत्वपूर्ण स्थलहरूमा आगजनी र सरकारी–निजी संरचनामा व्यापक क्षति पुगेको घटनाको राजनीतिक तथा नैतिक जिम्मेवारी लिनुपर्ने आवाज बढ्दै गएको छ।

आयोगले ओली र लेखकलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ। आयोगका सदस्यहरूले घटनालाई संवेदनशील र राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै शीर्ष नेतृत्वको बयान अनिवार्य रहेको स्पष्ट गरेका छन्।

भदौ २३ र २४ का ती घटनाहरू पछि पनि देशभरि चर्चामा रहेका छन्, र आयोगको यो सक्रियता घटनाको सत्य खुलासातर्फको महत्वपूर्ण मोड मानिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖