• Friday 16th of October 2026

एमालेको महाधिवेशन बिथोल्न सरकारले नागढुंगा–मलेखु सडक बन्द गराउन लाग्यो:महेश बस्नेत


  • धनकुटा खबर
  • .

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले पार्टीको महाधिवेशन बिथोल्न नागढुंगा–मलेखु सडक बन्द गराउन लागेको आरोप लगाएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियत राखेरै एमालेको महाधिवेशनको समय पारेर आगामी २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गर्न लागेको बस्नेतको आरोप छ।

‘मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ,’ उनले भनेका छन्, ‘एमालेको मंसिर २७– २९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन—प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ।’

उनले यो निर्णय तत्काल फिर्ता गरेर पुस पहिलो हप्तादेखि काम गर्न ध्यानाकर्षण पनि गराएका छन्।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर काट्न मंसिर २४ (बुधबार) देखि पुस १ सम्म नागढुंगा–मलेखु सडक बन्द गराउन लागेको हो। उक्त अवधिमा सडक डाइभर्सन गरिने आयोजना कार्यालयले जानकारी दिएको छ।

नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द गरिने आयोजना कार्यालयले जानकारी दिएको छ। उक्त समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडी व्यवस्थापन गर्न सूचनामा मार्फत् भनिएको छ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछ। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ।

मुग्लिङबाट काठमाडौंतर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ। साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। सूचना अनुसार सीतापाईला भिमढुंगा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖