• Friday 16th of October 2026

अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु : देउवा


  • धनकुटा खबर
  • .

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पुनः डडेल्धुराबाटै प्रतिस्पर्धा गर्ने मनसाय बनाएका छन्। पछिल्ला दिनमा विभिन्न भेटघाटमा देउवाले ‘अन्तिमपटक चुनावी दौडमा उत्रने’ संकेत दिएको नेताहरू बताउँछन्।

डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउँदका अनुसार देउवाले उम्मेदवारी इच्छा व्यक्त गरिसकेपछि जिल्लाबाट सर्वसम्मत सिफारिस गर्ने तयारी छ। गत सप्ताह महाराजगञ्जमा देउवालाई भेट्न पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि सभापतिले चुनाव लड्ने चाहना दोहोर्‍याएको बताएका छन्।

त्यस्तै, मंगलबार बिहान भेट्न पुगेका नेविसंघ नेता भुवन भट्टका अनुसार देउवाले अन्तिमपटक प्रतिस्पर्धामा उत्रने सोच सुनाएका छन्।

यसैबीच, कांग्रेसले यही महिनाको अन्त्यसम्म केन्द्रमा नाम सिफारिस पठाउनका लागि परिपत्र गरेको छ। पार्टी विधान अनुसार एक महिलासहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। निर्वाचन क्षेत्रीय समितिलाई मंसिर २५ भित्र नाम प्रदेश समितिमा पठाउन निर्देशन दिइएको छ।

सभापति देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका छन्। उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ को चुनावमा डडेल्धुराबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖