भारतले नेपाललाई प्रतिनिधि सभा निर्वाचनका लागि एक हजारभन्दा बढी गाडी उपलब्ध गराउने भएको छ। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका क्रममा परिचालन हुने सुरक्षा निकाय, निर्वाचन सामग्री ढुवानी तथा अन्य प्राविधिक प्रयोजनका लागि भारतले सवारी–साधन सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार भारत सरकारले नेपाललाई ठूला तथा साना गरी एक हजारभन्दा बढी चारपांग्रे सवारी साधन उपलब्ध गराउने आश्वासन दिएको छ। नेपाल सरकारले माग गरेको सूचीका आधारमा भारतले सवारी–साधन उपलब्ध गराइने जनाएको हो।
यस प्रकारको सहयोग नेपाल–भारतबीच रहेको चुनाव सहयोग संरचना अन्तर्गत परे पनि, एकैपटक यति ठूलो संख्यामा गाडी प्राप्त हुने जानकारी महत्त्वपूर्ण मानिन्छ। निर्वाचन आयोगका अनुसार सवारी–साधन अभावले निर्वाचन सञ्चालनमा चुनौती आउने भएकाले भारतको सहयोगले व्यवस्थापन सहज हुनेछ।
निर्वाचन आयुक्त भण्डारीका अनुसार सहमतिअनुसार गाडीहरू चरणबद्ध रूपमा नेपाल भित्रिने छन् र निर्वाचन सम्पन्न भएपछि पुनः भारतलाई फिर्ता गरिनेछ। आयोगले यस सहयोगका लागि औपचारिक कूटनीतिक प्रक्रिया पूरा भएको जनाएको छ।
चुनाव नजिकिँदै गर्दा सुरक्षा व्यवस्थापन, निर्वाचन अधिकृतहरूको परिचालन र सामग्री ढुवानीका लागि पर्याप्त गाडी व्यवस्थापन प्रमुख चुनौती बनेको थियो। भारतको सहयोगपछि आयोगले अब निर्वाचन तयारी गति लिने बताएको छ।
