• Friday 16th of October 2026

भ्रष्टचारमाथि अब सम्झौता छैन :प्रचण्ड


  • धनकुटा खबर
  • .

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सबै चर्चित काण्ड र २०४६ सालयता उच्च पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति विस्तृतरूपमा छानबिन गर्नुपर्ने माग पुनः दोहोर्‍याएका छन्।

मंगलबार जारी विशेष शुभकामना सन्देशमार्फत प्रचण्डले राज्यसञ्चालनमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई मजबुत बनाउने दिशामा अब निर्णायक कदम चाल्नुपर्ने धारणा राखेका हुन्।

सन्देशमा उनले आफू प्रधानमन्त्री भएका बेला सुशासनलाई नै राज्यसञ्चालनको मूल मन्त्र बनाइएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चलाउँदा शक्तिशाली दलाल, बिचौलिया र भ्रष्ट समूहको स्वार्थमा ठेस पुगेको बताए।

“यिनै समूहले हाम्रो नेतृत्वको सरकारले चालेको सुशासनको अभियानलाई असफल पार्ने षड्यन्त्र गरे, जुन अन्ततः सफल पनि बनाइयो,” उनले भने। यद्यपि त्यस अवधिमा सुशासनका धेरै मानकहरू स्थापित भएको र भुटानी शरणार्थी प्रकरणसहित ठूला–ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइएको प्रचण्डको दाबी छ।

उनले सार्वजनिक खरिदमा पारदर्शिता, प्रशासनिक सुधार, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ तथा नागरिकको सक्रिय निगरानी जस्ता विषयलाई दिगो सुशासनका आधारस्तम्भका रूपमा प्रस्तुत गरे। यिनै आधारका लागि संसद रोष्टममै आफूले उठाएको मागलाई आजको दिवसमा पुनः सशक्तरूपमा दोहोर्‍याएको उनले स्पष्ट पारे।

प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक दिनको अभियान नभई निरन्तर संघर्ष भएको उल्लेख गर्दै सबै नागरिक, संस्थान र जिम्मेवार नेतृत्वले यसलाई साझा अभियानका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार, यस दिवसले जनतालाई सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा अझ सशक्त रूपले खडा गराउनेछ र समृद्ध, भ्रष्टाचारमुक्त समाजवादी नेपाल निर्माणतर्फ अग्रसर हुन प्रेरणा दिनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖