• Friday 16th of October 2026

एमाले अध्यक्ष ओलीसँग भिड्न कांग्रेसका ६ आकांक्षी तयार, विश्वप्रकाश एकल सिफारिस


  • धनकुटा खबर
  • .

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका ५ निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

सबैभन्दा चर्चित क्षेत्र मानिएको झापा – ५ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्र हो । यहाँबाट ओलीसँग प्रतिस्पर्धा गर्न कांग्रेसका ६ जना आकांक्षी देखिएका छन् ।

कांग्रेसको क्षेत्रीय समितिले झापा ५ का लागि मेदनी सिटौला, अइन्द्र केरुङ, खगेन्द्र पाण्डव अधिकारी, देवी दाहाल, मन्दिरा पौडेल र पदम पौडेलको नाम जिल्लामा सिफारिस गरेको हो ।

यस्तै, झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । झापा ४ बाट भने जिल्ला सभापति देउमान थेबे र प्रदेश सदस्य तथा महासमिति सदस्य उत्तम चौंलागाईको नाम सिफारिस गरिएको छ ।

झापाको निर्वाचन क्षेत्र ३ र २ बाट भने हालसम्म कुनै नाम सिफारिस भएको छैन । झापा ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको क्षेत्र हो ।

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको थियो । उक्त परिपत्रमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले योग्यता पुगेका आकांक्षीमध्येबाट बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र समावेशी सिद्धान्तलाई ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा २ जनाको नाम समानुपातिकमा सिफारिस गर्नुपर्ने उल्लेख छ ।

यसका लागि क्षेत्रीय कार्यसमितिले मंसिर २३ गते (मंगलबार) भित्र जिल्लामा, जिल्लाले २६ गतेभित्र प्रदेशमा र प्रदेश कार्यसमितिले यही मसान्तभित्र केन्द्रमा नाम पठाइसक्नु पर्नेछ । सिफारिस गर्दा सर्वसम्मतिको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय लिन परिपत्रमा निर्देशन गरिएको छ ।

कांग्रेसले उम्मेदवार चयनमा कडाइ गर्दै केही बन्देजहरू पनि लगाएको छ । जसअनुसार २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिहरू यस पटक समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने, २०७९ को बन्दसूचीमा नाम समावेश भएका तर निर्वाचित नभएकाहरूलाई पनि यस पटक समानुपातिकमा सिफारिस नगर्ने, २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।

त्यस्तै पार्टीको विधानअनुसार तोकिएको लेबी नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने, जातीय विभेद, घरेलु हिंसाजस्ता सामाजिक विसंगतिमा दोषी ठहरिएका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य हुने र एउटै व्यक्तिलाई प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरी एकभन्दा बढी पदमा सिफारिस गर्न नपाइने पनि परिपत्रमा स्पष्ट पारिएको छ ।-ratopati

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖