काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भण्डारीले नेतृत्वमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन्, जसलाई कांग्रेसभित्र नेतृत्व परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
भण्डारीले लेखेका छन् कि आफू कांग्रेसको संगठन, देश, जनता र लोकतन्त्रको हित जहाँ खडा हुन्छ, त्यहीअनुसार “शून्यदेखि सयसम्म” अघि बढ्न तयार छन्। उनले स्पष्ट रूपमा सभापति पदप्रति आफ्नो आकांक्षा प्रकट गर्दै भनेका छन्—
“१५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण निर्धारित छ। देश–जनताको आवश्यकता अनुसार कदम चाल्न तयार छु।”
उनको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व प्रतिस्पर्धा झन् तीव्र हुने संकेत देखिएको छ। यसअघि महामन्त्री गगन थापाले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। भण्डारीको प्रवेशसँगै महाधिवेशनमा शेरबहादुर देउवा, गगन थापा र चन्द्र भण्डारीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिएको छ।
कांग्रेसले यसै महिनाको अन्त्यसम्म महाधिवेशनका लागि नाम सिफारिस प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेको छ। भण्डारी निकट नेताहरूले उनको उम्मेदवारीले कांग्रेसमा वैचारिक र पुस्तागत बहसलाई अझ व्यापक बनाउने दाबी गरेका छन्।
चन्द्र भण्डारी पार्टीभित्र लोकप्रिय, स्पष्ट वक्ता र वैकल्पिक नेतृत्वका रूपमा चिनिँदै आएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रको शक्ति–समीकरण फेरिने संकेत उनका समर्थकले देखाएका छन्।
नेता भण्डारीले भनेको अन्तिम पंक्ति कांग्रेसभित्र व्यापक चर्चा बटुल्दैछ—
“साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ।”
उनको यो कदमले आगामी महाधिवेशनलाई झन् रोचक र प्रतिस्पर्धात्मक बनाएको विश्लेषकहरू बताउँछन्।
