काठमाडौ । सरकारले बुधबार साँझ जेनजी आन्दोलनसम्बद्ध प्रतिनिधिहरूसँग औपचारिक सम्झौता गरेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भित्र नै तनावपूर्ण अवस्था सिर्जना भएको छ।
प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाबीच सम्झौतामा हस्ताक्षर भएपछि केही जेनजी सदस्यहरूले दस्तावेजको प्रावधानप्रति आपत्ति जनाउँदै कार्यालय परिसरमै विवाद उत्पन्न गरेका हुन्।
सरकार र जेनजीबीचको वार्ता केही सातादेखि चलिरहेको थियो। विभिन्न माग, आन्दोलनका क्रममा उठेका मुद्दा तथा भविष्यमा अपनाइने संरचनात्मक सुधारसम्बन्धी सहमति बनाउन दुवै पक्ष प्रयासरत थिए। सम्झौता सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले “सम्झौता शान्ति र समाधानतर्फको ठोस कदम” भएको बताइन्।
तर हस्ताक्षरको केही मिनेटमै केही जेनजी युवाहरू आक्रोशित हुँदै कार्यालयभित्रै चर्काचर्की गर्न थालेका थिए। उनीहरूले सम्झौतामा आफ्नो वास्तविक मुद्दा र मागहरु सम्बोधन नभएको आरोप लगाएका छन्। केहीले हस्ताक्षर प्रक्रिया “अपारदर्शी” र “नेतृत्वले एकलौटी गरेको” दाबी पनि गरे।
