• Friday 16th of October 2026

रवि र छविको मुद्दा आज ४ नम्बर इजलासमा, तर फेरि सुनुवाइ स्थगित हुने संकेत


  • धनकुटा खबर
  • .

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा आज पुनः उच्च अदालत तुलसीपुर बुटवल इजलासको पेसीमा परेको छ। आजको सुनुवाइ ४ नम्बर इजलासमा, क्रम संख्या १ मा तोकिएको हो।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आजको संयुक्त इजलासमा न्यायाधीश सागर विष्ट र तेजनारायण पौडेल रहनेछन्।

तर आज पनि सुनुवाइ स्थगित हुने प्रबल सम्भावना रहेको बताइएको छ। नेपाल बार एशोसियसनको अधिवेशनका कारण ‘पटक गणना नहुने गरी’ कानुन व्यवसायीहरूले स्थगनको अनुरोध गर्न सक्ने भएकाले सुनुवाइ नहुने अनुमान गरिएको हो।

यसअघि पनि मंसिर ११, मंसिर ४, कात्तिक २७, कात्तिक २०, कात्तिक १३, असोज ३० लगायतका मितिहरूमा मुद्दा सुनुवाइ स्थगित भइसकेको छ। मंसिर ११ मा न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको मुद्दा रविका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो।

कात्तिक २७ गते उच्च अदालतले रवि र छविको मुद्दासम्बन्धी सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको थियो। जिल्ला अदालतबाट प्रतिलिपि मात्र प्राप्त भएपछि सर्वोच्च अदालतबाट सक्कल प्रमाण माग गर्नु परेकाले मुद्दा पटक–पटक ढिलाइ हुँदै आएको हो।

रवि र जोशी दुवैले बिगोबराबरको जमानत राखेर थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने दाबी गर्दै उच्च अदालतमा निवेदन दिएका छन्। तर जिल्ला अदालत रुपन्देहीले २६ साउनमा उनीहरूको थुनामुक्ति निवेदन अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा दुवैजनाले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

आजको सुनुवाइ किनारामा पर्न सक्ने सम्भावना उच्च भएकाले मुद्दा अझै लम्बिन सक्ने देखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖