• Friday 16th of October 2026

जेनजी–सरकार सम्झौता भाँड्न अग्रपंक्तिमा उत्रिएकी युवती जब एमाले कार्यकर्ता भएको तथ्य बाहिर आयो


  • धनकुटा खबर
  • .

काठमाडौ । सिंहदरबारमा मंगलबार साँझ जेनजी प्रतिनिधि र सरकारबीच भएको दशबुँदे सम्झौतामा अप्रत्याशित रूपमा विवाद चुलिएको थियो। प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित भएको औपचारिक हस्ताक्षर समारोहकै बीच एक समूहले सम्झौता पत्र च्यातचुत गर्दै कार्यक्रम अवरुद्ध बनाएको दृश्य सार्वजनिक भइसकेको छ।

सम्झौता प्रक्रियामा सहभागी हुँदै आएका केही युवाहरूले शुरुमा असहमति जनाउँदै चर्काचर्की गरेपछि वातावरण तनावग्रस्त बन्दै गएको थियो। त्यही क्रममा आफूलाई जेनजी मन्त्री भनिने युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हात जोडेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए।

हस्ताक्षर भाँड्नेहरूमध्ये विशेष रूपमा एक युवती अत्यधिक आक्रामक देखिएकी थिइन्। पछि ती युवती सुप्रिया ठकुरी रहेको तथ्य बाहिर आएको छ। जाजरकोट घर भएकी तथा हाल काठमाडौं बस्दै आएकी सुप्रिया नेकपा (एमाले)सँग सक्रिय रूपमा आबद्ध रहेको खुलेको छ। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘बा’ भन्दै फोटो खिचाउँदै गरेको दृश्य पनि सामाजिक सञ्जालमा पाइन्छ। उनी एमालेको जाजरकोट–काठमाडौं सम्पर्क मञ्चकी अध्यक्ष समेत रहेको पुष्टि भएको छ।

यसअघि नै भदौ २४ गते सिंहदरबारस्थित रेडियो नेपाल अगाडि उनले भीड उक्साएको भिडियो सार्वजनिक भइसकेको छ। सो भिडियोमा सुप्रियाले, “अब मन्त्रालय जलाउन जाऔँ, यहाँबाट भित्र गएर हामी बोल्ने हो” भन्दै भिडलाई आक्रामक कदम चाल्न प्रेरित गरेको देखिन्छ।

यही पृष्ठभूमिबाट धेरैले प्रश्न उठाइरहेका छन्—जेनजीको पहिचान बोकेर सक्रिय भएकी सुप्रियाले वास्तवमै आन्दोलनको हितका लागि कार्य गरिरहेकी थिइन् कि कुनै राजनीतिक योजनाअनुसार परिचालित थिइन्? जेनजीका केही समूह—विशेषतः रक्षा बम र भावना राउत नेतृत्वको समुहले—सुप्रियालाई एमालेको निर्देशनमा सम्झौता भाँड्न लगाइएको हुनसक्ने अनुमान सार्वजनिक गरेका छन्।

सम्झौतामा मस्यौदा तयार गर्ने प्रक्रियामा सुप्रिया निरन्तर सहभागी भए पनि उनले कुनै आपत्ति नजनाएको, तर प्रधानमन्त्री कार्यालयमा अन्तिम क्षणमा आएर ‘सम्झौता मान्दिन’ भन्दै हंगामा मच्चाउन खोज्नु नै शंकास्पद रहेको उनीहरूको तर्क छ।

यस घटनापछि जेनजी आन्दोलनभित्रै विभाजन र राजनीतिक प्रभावबारे नयाँ बहस सुरु भएको छ। सरकार–जेनजी वार्ता निष्कर्षतिर उन्मुख भइरहँदा यस्तो विवाद उत्पन्न हुनु आन्दोलन र राजनीतिक दुवै क्षेत्रका लागि थप प्रश्न उठाउने विषय बनेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖