काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोपको प्रतिवाद गरेका छन् ।
बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताएका हुन् ।
आफ्नो बचाउका क्रममा अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग कोट्याए । उनले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै आफूलाई पाण्डवसँग दाँजे ।
‘भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ ओलीले भने, ‘भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्याएर भागेका हुन् ।’
उनले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नुपरेको तर्क गरे। ‘दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उनले थपे ।
