• Friday 16th of October 2026

भिजिट भिसा प्रकरणमा रहेका घूस लेनदेनको “कोड भाषा” ९० प्लेट मोःमो


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तिर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा रहेका घूस लेनदेनको “कोड भाषा” प्रयोगकर्ताको रूपमा परेका छन्। एकाबिहानै ‘९० प्लेट मोःमो’ माग गर्ने उनका म्यासेज वास्तवमा घूसको संकेत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजागर गरेको छ। फेमिली होलिडेजका सञ्चालकसँग गरिएको बारम्बारको यस्ता संवादहरूले भट्टराईले एजेन्टमार्फत रकम उठाउने संगठित प्रणाली चलाएको पुष्टि गरिएको अख्तियारको दाबी छ।

छ महिनादेखि चलिरहेको अनुसन्धानपछि अख्तियारले भिजिट भिसामा अवैध रूपमा विदेश पठाउने क्रममा घूस लिएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। तर सोही घटनामा संलग्न रहेरेका भनिएका तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलगायतका उच्च अधिकारीमाथिको अनुसन्धान भने अहिलेदेखि टुंगोमा पुगिएको छैन। अख्तियारले उनीहरूबारे “छुट्टै अनुसन्धान भइरहेको” भन्दै प्रतिवादीको सूचीमा समावेश गरेको छैन।

अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा भट्टराईसँगको डायरी, मोबाइल र कल–डिटेल (CDR) को विश्लेषणबाट गृहमन्त्रीका निजी सचिव बद्री तिवारी र स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क देखिएको उल्लेख छ। सोही विश्लेषणमा अध्यागमन विभागका तत्कालीन महानिर्देशक, शान्ति सुरक्षा महाशाखा प्रमुख, महाशाखा प्रमुख तथा अन्य कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको विवरण छ।

आरोपपत्र अनुसार, भिजिट भिसामा विदेश पठाउने नाममा पुरुषबाट २० हजार र महिलाबाट ४० हजारसम्म घूस उठाइन्थ्यो। रकम संकलन गर्ने जिम्मा एजेण्टलाई दिइन्थ्यो, जहाँ ‘मोःमो’, ‘गिफ्ट’, वा ‘पार्सल’ जस्ता शब्दहरू घूसको संकेतका रूपमा प्रयोग गरिन्थे। एक अडियो म्यासेजमा त एक एजेण्टले नै “कसलाई दिने हो पैसा?” भनी सोध्दा ‘डीजी साबलाई’ भन्दै रकम रेष्टुरेन्टमा झोलासहित राखेर पार्सल दिएजस्तो गर्न निर्देशन दिएको फेला परेको छ।

अख्तियारका स्रोतका अनुसार, भट्टराईले घूसका लेनदेनमा आफ्ना निकट व्यक्तिहरूलाई पनि प्रयोग गर्थे। एक युवतीसँगको म्यासेजमा उनले रकम पठाएको, वस्तु किनेको र व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेको समेत भेटिएको छ। यद्यपि ती युवतीमाथि कुनै आरोप दायर गरिएको छैन।

अख्तियारले भट्टराई, कविता पौडेल र जग्गा कारोबारी खेम सुवेदीमाथि एक करोड तीन लाख रुपैयाँ बिगो माग गर्दै सम्पत्ति शुद्धिकरणको मुद्दा समेत दायर गरेको छ। अध्यागमनका अन्य कर्मचारी र एजेन्टहरू—बालकृष्ण खड्का, दीपक भण्डारी, यज्ञराज अर्याल—माथि पनि लाखौँ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यस बीच, अख्तियारले गृहमन्त्री, गृहसचिव र अन्य उच्च अधिकारीहरूमाथि अनुसन्धान जारी रहेको दाबी गरे पनि आरोपपत्रमा प्रस्तुत प्रमाण ती तहसम्म पुग्ने गरी स्पष्ट देखिएको छैन। तर ‘९० प्लेट मोःमो’ जस्तै संकेतहरूले भिजिट भिसा दुरुपयोग प्रकरण अझ गहिरो स्तरसम्म जोडिएको हुन सक्ने अख्तियार–स्रोतले जनाएको छ।

अनुसन्धानकै क्रममा भट्टराई र एजेण्टहरूको घरबाट बरामद गरिएका ग्याजेटहरूको परीक्षण जारी छ। अख्तियारले भनेको छ—“प्रतिवादीहरूको सम्बन्ध र सम्पर्कका व्यक्तिहरूसँग देखिएको विषयमा थप छुट्टै अनुसन्धान आवश्यक देखिएको छ।”-अनलाइन खबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖