• Friday 16th of October 2026

भोलि कहाँ-कहाँबाट निस्कने छ एमालेको जुलुस?


  • धनकुटा खबर
  • .

नेकपा एमालेले ११ औं महाधिवेशनको उद्घाटन सत्रमा दुई लाख मानिस उतार्ने दाबी गरेको छ।

एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यका अनुसार विभिन्न जिल्लाबाट सहभागी आउनेक्रम सुरू भइसकेको छ। टाढाटाढा जिल्लाबाट सहभागी गाडी रिजर्भ गरेर हिँड्न थालिसकेका छन्।

‘हामीले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेका थियौं। अहिलेसम्मको आकडाअनुसार न्यूनतम दुई लाख नागरिकको सहभागिता रहने पक्कापक्की भएको छ। हामी अहिले पूर्व, पश्चिम र उत्तरतिरबाट आउने गाडीहरूको व्यवस्थापनमा काम गरिरहेका छौं,’ आचार्यले भने।

उनका अनुसार महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन्। भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ। काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ।

‘सिंगो उपत्यकाको कला, सामाजिक–सांस्कृतिक सभ्यता, परम्पराको प्रतिविम्बन जुलुसमा हुनेछ। त्यसको परिचायक पनि हाम्रो प्रदर्शन बन्नेछ,’ उनले भने, ‘हामीले जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक बनाउनेछौं।’

एमालेले भक्तपुरमा पहिलोपटक महाधिवेशन उद्घाटन गर्दैछ।
सल्लाघारी पश्चिमतर्फको खुला चौरलाई एमालेले उद्घाटन स्थल बनाएको छ।

एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ। त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ। त्यति दूरी जुलुससहित पुग्ने गरी व्यवस्थापन मिलाइएको उनले बताए। पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन्। त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ।

‘ललितपुरबाट आएको गाडी, सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ,’ उनले भने।

पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताएका छन्।

सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको पनि उनले बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖