• Friday 16th of October 2026

काठमाडौं–३ बाट नेविसंघ अध्यक्षलाई रोकेर चालिसेको नाम एकल सिफारिस


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ बाट नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई रोकेर निवर्तमान सांसद सन्तोष चालिसेको नाम मात्रै एकल सिफारिस भएपछि विवाद सिर्जना भएको छ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चालिसेको नाम मात्रै सिफारिस गरेको हो। चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसअघि उनी गोकर्णेश्वर नगरपालिकाका मेयर थिए।

चालिसेको मात्रै नाम सिफारिस भए पनि प्रत्यक्षमै नेविसंघका अध्यक्ष शेर्पा र कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सदस्य शम्भु अधिकारी पनि आकांक्षी थिए। तर कार्यवाहक सभापति श्रीराम चालिसे नेतृत्वको क्षेत्रीय कार्यसमितिले सन्तोष चालिसेको नाम मात्रै सिफारिस गरेर पठाएपछि विवाद सिर्जना भएको छ।

असन्तुष्ट केही नेता कार्यकर्ताहरूले क्षेत्रीय कार्यसमितिको कार्यालयमै पुगेर तालाबन्दी गरेका छन्। तरुण दलका केन्द्रीय सदस्य दीप थिङ लामा नेतृत्वको टोली पुगेर तालाबन्दी गरेको हो।

तालाबन्दीकर्ता पक्षले ‘विधि–विधान विपरीत प्रस्तावित नाम सिफारिस तत्काल सच्याउन’ माग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभाको उम्मेदवार सिफारिसका लागि पार्टीको विधान २०७५ (संशोधन सहित) बमोजिम प्रत्यक्षतर्फ तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो। तर, आकांक्षीलाई पूर्णतः निषेध गरेर केही व्यक्ति बन्द कोठामा बसेर गरेको निर्णय नमानिने असन्तुष्ट पक्षले जनाएको छ।

‘आज बन्द कोठामा बसेको कार्यसमिति बैठकमा केन्द्रीय निर्देशन, पार्टी विधान र संरचनागत प्रक्रिया पूर्ण रूपले मिच्दै अघिल्लो संरचनाबाट पठाइएका आधिकारिक नामहरू पन्छ्याइयो र अनधिकृत रूपमा नयाँ नाम सिफारिस गरिएको जस्तो गम्भीर तथा विधि–विपरीत घटना भएको जानकारी प्राप्त भएको छ,’ असन्तुष्ट पक्षको विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको एकलौटी, अपारदर्शी र मनोमानी निर्णय ले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र, सङ्गठनात्मक सुशासन र प्रणालीगत निर्णय प्रक्रियामाथि गम्भीर धक्का पुगाएको छ, जुन कदापि स्वीकार्य छैन।’-नागरिक

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖