• Friday 16th of October 2026

पालिका फेर्ने कान्छा अध्यक्ष ओझाको एमाले केन्द्रीय सदस्यमा दाबी


  • धनकुटा खबर
  • .

पोखरा । गण्डकी प्रदेशमा नमुना पालिकाहरूको चर्चा चल्दा कास्कीको रुपा गाउँपालिका बाक्लै सुनिने नाम हो । कृषि उत्पादनबाट नागरिकलाई आत्मनिर्भरताको बाटो देखाएको रुपा अहिले धेरै पालिकालाई सिक्न जाने भ्रमणको थलो बनेको छ । यही सफलताको ‘पाहुर’ बोकेर एमालेको केन्द्रीय राजनीतिमा होमिएका छन्, पालिका अध्यक्ष नवराज ओझा । ३२ वर्षकै उमेरमा पहिलो कार्यकाल पालिका हाँकेका ओझा २०७९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भए । २०७४ मा एमालेका लागि कमजोर ठानिएको पालिकामा एमालेले ओझालाई पत्याएर टिकट दियो ।

ओझाले आफूलाई प्रमाणित गरिछाडे । उनले दोस्रो इनिङ सुरु गर्न पहिलो कार्यकालकै काम काफी भयो । ५ वर्षमा गरेका पौरख देखाएरै उनले लोकप्रिय मतका साथ दोस्रो पटक पालिका अध्यक्ष जिते । रुपालाई चिनाउन उनले प्रचारमुखी काम भन्दा जनताको आयआर्जनलाई प्राथमिकता दिए । मह उत्पादन बढाउन एक घर एक घार कार्यक्रमदेखि कृषि र फलफूल पकेट कार्यक्रम उनका कार्यकालको सम्झना लायक काम हुन् । अहिले मह बेचेरै रुपाका नागरिकले मनग्गे आम्दानी गरेका छन् ।

पालिकामा स्तरीय अस्पताल बनाएका छन् । गाउँबाटै नागरिकले कम खर्चमा उपचार पाएका छन् । लसुन, प्याज खेती, दूध उत्पादन हालको भन्दा दोब्बर बनाएर ५ सय युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । हरेक वर्ष कुनै न कुनै नयाँ कार्यक्रम बजेट मार्फत ल्याउँछन् र त्यसलाई सफल बनाएकै छन्, उनले ।

ओझा अहिले आफ्नो पालिकाको मात्रै होइन, गण्डकी प्रदेशको ५८ वटा गाउँपालिकाकै अध्यक्ष (गाउँपालिका राष्ट्रिय महासङ्घ) बनेका छन् । ‘सानै उमेरमा पार्टीले विश्वास गरेर टिकट दियो, मैले काम गरेर त्यो विश्वासलाई मतमा बदलेँ,’ उनी भन्छन्, ‘हिजो एउटा पालिकाको जिम्मेवारी थियो, आज गण्डकीका ५८ वटा गाउँपालिकाको नेतृत्व गरिरहेको छु ।’

पालिकामा आफूलाई प्रमाणित गरिसकेका ओझा अब पार्टीको केन्द्रीय नेतृत्वमा युवा हस्तक्षेप बढाउन चाहन्छन् । उनले ४० मुनीका युवाहरूको क्लस्टरबाट आफूलाई केन्द्रीय सदस्यमा दावी गरेका छन् । ‘पार्टीले युवालाई अवसर नदिएको होइन । तर अब काम देखाएका युवाहरू माथिल्लो तहमै पुग्न आवश्यक छ,’ ओझा भन्छन्, ‘आफूले नेतृत्व गरेको ठाउँमा जसरी विश्वास कमाउने गरी काम गरें, अब पार्टीको केन्द्रीय तहमा पनि प्रतिनिधित्व गर्ने चाहना छ ।’ उनी संस्थापन पक्षबाटै उम्मेदवार बन्ने तयारीमा छन् ।

‘समग्र युवाहरूको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी रहनेछ । अहिले युवाहरूमा राजनीतिप्रति खासै चासो छैन । युवाहरूको राजनीति प्रति चासो बढाएर समाजवाद उन्मुख समाज निर्माण गर्न अब हामीले पहल लिनुपर्छ,’ अघि थपे, ‘बिशेषगरी पार्टी नेतृत्व र युवापुस्तालाई जोड्ने पुलको रुपमा म रहनेछु । नेतृत्वलाई युवाहरूमाझ पुर्‍याउनकै लागि मैले उम्मेदवारी दिने निर्णय लिएको हुँ ।’

केन्द्रीय अध्यक्ष ओलीले पनि केन्द्रीय सदस्यका लागि ग्रिन सिग्नल दिइसकेका उनले बताए । उनी यसअघि एमाले कास्कीको उपसचिवमा निर्वाचित भएका थिए । पछिल्लो अधिवेशनमा जनप्रतिनिधिहरूले पदाधिकारीमा दाबी नगर्न पार्टीले निर्देशन गरेपछि उनी पछि हटेका थिए । -ratopati

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖