• Friday 16th of October 2026

‘बाउबाट छोरामा सत्ता हस्तान्तरण? श्याम सिटौलाको नाम सिफारिसले कांग्रेसमा भाँडभैलो”


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृह क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस प्रक्रियासँगै पार्टीभित्र गम्भीर विवाद सतहमा आएको छ। आगामी निर्वाचनका लागि क्षेत्रीय समितिले सिटौलाका छोरा श्याम सिटौलालाई ‘जेनजी प्रतिनिधि’का रूपमा सिफारिस गरेपछि असन्तुष्ट समूहले खुला रूपमा विरोध जनाउँदै विद्रोहको चेतावनी दिएका छन्।

क्षेत्रीय कार्यसमितिले केन्द्रमा सिफारिस गरेका ६ जनाको नाम सार्वजनिक भएसँगै कांग्रेस वृत्त तातेको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फ सिफारिस गरिएका नामहरूमा श्याम सिटौलासँगै नवीन विमली, भगिरथ पोद्दार, शर्मिला अधिकारी, टीकाराम ढकाल र सिताराम खड्का रहेका छन्। सिफारिस प्रक्रियामा पुराना र त्यागी नेताहरूलाई बेवास्ता गरिएको आरोप असन्तुष्ट पक्षको छ।

उम्मेदवार छनोटका लागि बसेको बैठकमा सहभागी हुन गएका कांग्रेसका पुराना नेता तथा महासमिति सदस्यहरूलाई ‘माथिल्लो परिपत्र’को हवाला दिँदै बैठकस्थलबाट बाहिर निकालिएको भन्दै आलोचना भइरहेको छ। असन्तुष्ट पक्षका नेता ज्ञानमणि भुर्तेलका अनुसार क्षेत्रीय सभापति गणेश पोखरेलले क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिबाहेक अरूलाई बैठकमा बस्न नपाउने भन्दै पुराना नेताहरूलाई बाहिरिन बाध्य पारेका थिए।

बैठकबाट निकालिएका नेताहरूमा २०३६ सालदेखि राजनीतिक संघर्षमा सक्रिय ज्ञानमणि भुर्तेल, तोया गड्तौला, प्रमोद न्यौपाने र केन्द्रीय विभाग सदस्यसमेत रहेका अधिवक्ता भरत प्रसाईंलगायत रहेका छन्। असन्तुष्ट समूहले झापा–३ लाई सिटौलाले आफ्नो निजी क्षेत्रझैँ बनाएको र कार्यकर्तामाथि अपमानजनक व्यवहार गरिएको आरोप लगाएका छन्।

असन्तुष्ट पक्षले नेता सिटौलाले आफू प्रत्यक्ष नउठ्ने बहानामा रणनीतिक रूपमा छोरालाई अघि सारेको दाबी गरेको छ। ‘बाउबाट छोरामा सत्ता सर्नु जेनजी प्रतिनिधित्व होइन,’ भुर्तेलले आरोप लगाउँदै उम्मेदवार सिफारिस प्रक्रियामा सिन्डिकेट र सेटिङ गरिएको बताएका छन्।

यता, क्षेत्रीय सभापति गणेश पोखरेलले भने असन्तुष्ट पक्षका आरोपलाई अस्वीकार गर्दै केन्द्रको परिपत्रअनुसार नै प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्। उनका अनुसार ६ सयभन्दा बढी प्रतिनिधि भएकाले सबैलाई बैठकमा राख्न सम्भव नभएकाले तोकिएको मापदण्ड पूरा नगर्नेहरूलाई बाहिर राखिएको हो।

श्याम सिटौलाको सिफारिस र पुराना नेताहरूको बहिर्गमनपछि झापा–३ मा नेपाली कांग्रेसभित्रको आन्तरिक कलह थप चर्किएको छ। असन्तुष्ट समूहले यस घटनालाई ‘कांग्रेस कमजोर बनाउने खेल’को संज्ञा दिँदै पार्टी नेतृत्वले समयमै हस्तक्षेप नगरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖