काठमाडौं, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजीसँग गरेको सम्झौतालाई देशलाई गम्भीर भिडन्ततर्फ धकेल्ने षड्यन्त्रको संज्ञा दिएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको गतिविधिप्रति कडा आलोचना गरे।
उनले सरकार एकातिर निर्वाचनको हल्ला फैलाउने र अर्कोतिर निर्वाचन नै बिथोल्ने काममा लागेको आरोप लगाए। ओलीका अनुसार जेनजी सम्झौता कुनै वैधानिक प्रक्रिया नभई नाटकजस्तै प्रस्तुत गरिएको विषय हो।
उनले भने,
‘एकातिर निर्वाचनको कुरा गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने। जेनजी सम्झौताजस्ता नाटक मञ्चन गरिँदैछन्। यो बिल्कुल नाटक हो, अनधिकृत हर्कत हो। यो देशलाई भिडन्ततर्फ लैजाने गम्भीर षड्यन्त्र हो।’
ओलीले सरकार लोकतन्त्रलाई रोक्ने वातावरण बनाउन अनेक प्रपञ्च र जालो बुनिरहेको दाबी समेत गरे। यस्तो गतिविधिले राजनीतिक अस्थिरता बढ्ने र देश थप संकटतर्फ जाने खतरा रहेको उनको चेतावनी थियो।
सरकार–जेनजी सम्झौताबारे चर्किंदो विवादबीच ओलीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।
