• Friday 16th of October 2026

एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा रास्वपा महामन्त्रीले रविमाथि प्रतिशोध साँधियो भनेपछि एमाले कार्यकर्ताले गरे हो-हल्ला


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले)को ११ औं महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कबिन्द्र बुर्लाकोटीले शुभकामना मन्तव्य राख्दै गर्दा कार्यकर्ताहरूले हो-हल्ला गरेका छन्।

शनिबार दिउँसो सल्लाघारी मैदानमा शुभकामना मन्तव्य राख्ने क्रममा महामन्त्री बुर्लाकोटीले तत्कालीन सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको भनेपछि उपस्थित एमाले कार्यकर्ताहरुले हो-हल्ला गरेका थिए।

बुर्लाकोटीले आगामी निर्वाचन समयमै गरी लोकतन्त्रलाई लिकमा ल्याउन वातावरण बनाउने विषयमा एमाले पछि नहट्ने विश्वास व्यक्त गरेका थिए।
‘यसका लागि राष्ट्रिय दलहरूबाट समयमा नै निर्वाचनका लागि प्रशंसनीय भूमिका निर्वाह हुने अपेक्षा गर्दछौं,’ उनले भने।

त्यसपछि उनले लामिछाने हिरासतमा रहेको विषयबारे बोलेका थिए।
‘सहकारी रकम अपचलन आरोपमा कुनै प्रमाण पेश हुन नसकेको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले नै उहाँलाई कुनै संलग्नता नरहेको स्पष्ट पारे पनि तत्कालीन सरकारबाट अधिक फौजदारी अभियोजन गरेका कारण रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा हुनुहुन्छ। तर त्यो भन्दा अधिक बिगोसहितको आरोप लागेका कैयन् नेताहरू तत्कालीन सरकारबाट एकै दिन पनि हिरासत नबसी न्यून धरौटीमा बाहिर हुनुभएको तथ्य हामी सबैलाई देखेकै छौं। यो राजनीतिक प्रतिशोध भएको तथ्य यो विद्वत सभालाई बिना आग्रह पूर्वाग्रह स्मरण गराउन चाहन्छु,’ उनले भनेका थिए।

त्यसपछि मैदानमा उपस्थित भएका कार्यकर्ताहरूले हुटिङ गर्दै उनको अभिव्यक्तिको विरोध जनाएका थिए। -सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖