श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नै पार्टी विजयी भएर सरकार गठन गर्ने दाबी गरेका छन्।
काठमाडौंको सिफलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टीको घोषणापत्रमै चुनाव जित्ने र सत्ता सम्हाल्ने लक्ष्य स्पष्ट रूपमा उल्लेख गरिएको बताए।
साम्पाङले जेन–जी आन्दोलन केवल विरोधमा सीमित नभई वैकल्पिक राज्य संरचनाको माग भएको उल्लेख गर्दै आफ्नो विचारअनुसारको राज्य आवश्यक रहेको बताए। “हामीले नै जित्छौं, कुनै शंका छ? हामीले नै सरकार बनाउँछौं,” भन्दै उनले आफ्ना समर्थकमाझ आत्मविश्वास व्यक्त गरे।
उनले आफ्नो नेतृत्वको सरकारले जेन–जी पुस्ताका माग र चाहनालाई बुझ्न विशेष आयोग गठन गर्ने प्रतिबद्धता पनि जनाए। फरक पुस्ताबीच सोच र प्राथमिकतामा अन्तर हुने भएकाले युवाहरूको आवाज बुझ्न संस्थागत संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।
साम्पाङले श्रम संस्कृति पार्टीले देशलाई अग्रगामी दिशामा लैजाने स्पष्ट योजना अघि सारेको दाबी गर्दै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले शासन गर्ने प्रतिवद्धता व्यक्त गरे।
